काठमाण्डौ । के तपाईलाई स्वाद तथा गन्ध थाहा नपाउने समस्या देखिएको छ ? योसँगै झाडापखाला समेत बारम्बार भइरहेको छ कि ? यस्ता लक्षण देखिए भने कोरोना पनि भएको हुनसक्छ । 

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण सम्बन्धी मापदण्ड परिवर्तन गर्दै स्वाद तथा गन्ध थाहा नपाउने, झाडापखाला लागेको समेत स्वाब संकलन गरी पीसीआर टेस्ट गर्ने भएको छ । 

मन्त्रीस्तरीय निर्णयबाट कोरोना परीक्षणको नयाँ मापदण्ड बनाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

स्वास्थ्यविज्ञहरुका अनुसार विश्वका विभिन्न देशमा भएका अध्ययनको क्रममा कोरोना संक्रमण भएपछि स्वाद तथा गन्ध नथाहा पाउने समस्या समेत देखिएको छ । यस्तै, धेरै झाडापखालाको समस्या हुँदा समेत कोरोना नै कारण देखिएपछि तिनै रिसर्चमा आधारित रहेर नेपालले समेत परीक्षण मापदण्ड संसोधन गरेको हो ।  

मन्त्रालयले कोरोना परीक्षणका लागि बनाएको संसोधित अनुसार ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखाला भएका बिरामीलाई प्राथमिकता राखेर पीसीआर परीक्षण गरिनेछ । 

यस्तै, संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू, गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई)का बिरामीहरू, विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच–सात दिनभित्र), फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारीहरू, विगत १४ दिनमा कोभिड १९ संक्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू, आइसियुमा रहेका सबै बिरामीहरू, दीर्घरोगीहरू, प्रतिरोध क्षमता कमजोर भइसकेकाहरू (विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू)को समेत परीक्षण गरिनेछ । 

यसैगरी, चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू (आपतकालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण नतिजा कुर्नु नपर्ने), चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोभिड १९ बिरामीको डिस्चार्जका लागि, तर लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न (कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा) परीक्षण नतिजा नचाहिने गरी परीक्षण मापदण्ड तोकेको छ । 

पछिल्लो दिनमा कोरोना संक्रमणको दर बढ्न थालेपछि उत्पन्न परिस्थितिलाई काबुमा ल्याउन सरकारले परीक्षण मापदण्डको दायरा बढाएको हो ।