अप्राकृतिक खानपानका कारण उत्पत्ति भएको र सहरीया आधुनिक जीवनशैली तथा मानवीय लापरवाहीका कारण विश्वभर फैलिएको मानिएको कोरोना महामारीले केही देशमा केही समय मत्थर भएर फेरि दोस्रो चरणको विनाश लीला बढाइरहेको छ। केही देशमा विस्तारै विनाश लीला मच्चाउन सुरु गरेको, केही देशमा यसको प्रकोप पूर्ण नियन्त्रणमा रहेको र केही देशमा भने अहिलेसम्म पनि यसले प्रवेश गर्न नसकेको समाचारहरु आइरहेका छन्।
विज्ञान प्रविधिको दम्भ, अधिक स्वतन्त्रता र मानवीय लापरबाहीका कारण अमेरिका, बेलायत, इटलीजस्ता शक्तिशाली देशहरुमा कोरोनाको असर पुनः बल्झिएको, सरकारको गलत नीति तथा गैरजिम्मेवार व्यवहार र नागरिक लापरबाहीका कारण नेपालमा यसले विस्तारै विनाश लीला मच्चाउन सुरु गरेको छ। नेपालसँगै संक्रमण सुरु भएर पनि सरकारको असल नीति, नागरिकप्रतिको जिम्मेवार अभिभावकत्व र नागरिक सुझबुझका कारण कोरोना पूर्ण नियन्त्रणमा रहेको र हालसम्म पनि कसैको ज्यान गएको तथ्यांक नभएको छिमेकी राष्ट्र भुटान तथा प्रशान्त महासागरीय केही द्वीप राष्ट्रहरुमा हालसम्म पनि कोरोनाले प्रवेश गर्न नसकेको अवस्था विद्यमान छ।
नजिकैको छिमेकी राष्ट्र चीनमा सुरु भएर पनि विश्वभर यात्रा गर्दै केही महिनापछि मात्र हाम्रो देशमा प्रवेश गरेको कोरोनाबाट सामान्य सावधानीमात्र अपनाएको खण्डमा पनि सजिलै सुरक्षित रहन सकिने अवस्था हु“दाहु“दै पद, पैसा र पावरको खिचातानीमा कोरोनालाई भिœयाउने काम भयो। अर्थात् नागरिकलाई कालको मुखमा हुत्याएर यसैका माध्यमबाट कमाउने व्यापार सुरु भयो।
नेपालमा कोरोनाका सुरुआती दिनहरुबाटै नागरिकहरुमाथि दमन र अत्याचार गरियो। कोरोनाले भन्दा पनि सरकारका गैरजिम्मेवार नीति र व्यवहारका कारण नागरिकहरुले बीच बाटोमै र क्वारेन्टाइन नामका कालकोठरीहरुमा अनाहकमा ज्यान गुमाउनुपर्यो। चार महिना लामो लकडाउन व्यापारबाट मनग्य आम्दानीपश्चात कोरोना महामारी सकिएझैँ एकैचोटी खुला सभा, सेमिनार तथा पूर्ववत नियमित जीवनशैलीमा ओर्लने काम गरियो। यसले कोरोनालाई जिस्क्याउने र विस्तार गर्ने काममात्र भयो। लेख, रचना तथा सामाजिक सञ्जालमा पोखिएका सही सुझाव र सिर्जनात्मक आलोचनालाई दुश्मनको आँखाले हेरियो।
शासक, प्रशासक तथा सुरक्षा निकायमा चिनजान र पहुँच भएकाहरु बन्दाबन्दी समयमै र बन्दाबन्दी खुलेपश्चात देशभर बिना स्वास्थ्य चेकजाँच खुला आवागमनको काम भयो। जसले कोरोना विस्तारलाई व्यापक बनाउने काम भयो।
राजविराज, जनकपुर, वीरगन्ज, बुटवल, कपिलवस्तु, नेपालगन्ज, धनगढीजस्ता भारतीय सीमावर्ती क्षेत्रमा सीमापार खुला ओहोरदोहोरको काम, भारतीय खाद्यवस्तुको खुला आयात, उपचारको बहानामा सीमावर्ती क्षेत्रका संक्रमितहरुको राजधानी प्रवेश, लापरबाहीपूर्ण जीवनशैली, अधिकांश पहाडी क्षेत्रमा कोरोनाको अनभिज्ञता र पहाडी हावापानीमा कोरोनाको प्रवेश नै हुन नसक्ने विश्वास आदिका कारण देशभर कोरोनाको जोखिम भए पनि जनघनत्व बढी भएका अधिकांश सहरसहित खासगरी देशको केन्द्रीय राजधानी काठमाण्डौ उपत्यकामा उच्च खतरा रहेको अवस्था छ।
छिमेकी राष्ट्र भुटानमा त्यहा“को सरकारले नागरिकप्रति गरेको जिम्मेवारपूर्ण व्यवहारका कारण नेपालसँगै संक्रमण सुरु भए पनि यो लेख तयार पार्दासम्म १६३ जना संक्रमित भएकोमा ११८ जना निको भइसकेको, ५५ जना उपचारका क्रममा सहज अवस्थामा रहेको र कोरोनाबाट हालसम्म कसैको मृत्यु नभएको तथ्यांक छ। त्यहाँ संक्रमितहरु सबै बाहिर देशबाट प्रवेश गरेर क्वारेन्टाइन, आइसोलेसन तथा उपचार केन्द्रमा रहेकाहरु मात्र भएको र समुदाय पूर्ण रुपमा सुरक्षित रहेको अवस्था छ।
विश्व परिदृश्यमा हाल संक्रमित निको हुने दर ६८.१० प्रतिशत रहेको र नेपालमा भने निको हुने दर ५८.३० प्रतिशतमात्र छ। महिना दिन अघिसम्म सिंगल डिजिटमा भइरहेको मृत्युदर छोटो अवधिमा अहिले थ्री डिजिटमा पुगेको र दैनिक दर्जनको हाराहारीमा मृत्यु भइरहेकोलाई चिन्ताजनक अवस्था मान्न सकिन्छ। यही अवस्था कायम रहेमा निकट भविष्यमा विकराल स्थिति आउन सक्छ।
समुदायस्तरमा व्यापक रुपमा रोगको विस्तार भइसकेपछि र आधारभूत सेवासुविधाका नाममा खाद्यान्न फलफूल आदिजस्ता वस्तुको लापरबाहीपूर्ण असुरक्षित खरिद–बिक्रिले निषेधाज्ञा निरर्थक सावित हुनेछ।
भाइरस प्रकोपको सम्भावना
भारतीय सीमावर्ती क्षेत्रहरु पछिल्लो समय भारतलगायत वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको स्थानीय समुदाय र अधिकांश घनाबस्ती भएका सहरहरुमा भाइरसको प्रकोप बढेको देखिन्छ। अग्रस्थानमा रहेर रातदिन सेवामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत दिनहुँ संक्रमण बढ्दै जानु चिन्ताको विषय बनेको छ। यसको नियन्त्रणका लागि बढी प्रभावित क्षेत्रहरुमा निषेधाज्ञा पनि जारी गरिएको अवस्था छ। तर हचुवाको भरमा प्रत्येक निजी अस्पतालले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने र सो नभएमा अस्पतालको दर्ता खारेज गर्नेसम्मको उर्दी जारी गरिएको छ। जुन निकै संवेदनशील र आत्मघाती निर्णय हो।
अहिलेको परिस्थितिमा सामान्य रुघाखोेकी, ज्वरो, अन्य बिरामी तथा नियमित चेकजा“च गर्नुपर्ने बिरामीले सहज रुपमा स्वास्थ्य जा“च गराउन पाइरहेको अवस्था छैन। भाइरसको संक्रमण नभएकाहरुले समेत अन्य कारणले बिरामी भएमा वा अप्रेसन गर्नुपर्ने भएमा उपचार नपाएरै मर्नु परिरहेको अवस्था छ। प्रत्येक अस्पतालमा कोरोना जा“चको अनिवार्य व्यवस्था गर्ने हो भने अन्य रोगका बिरामीहरु कोरोना संक्रमणको डरले अस्पताल नगई घरमै मर्नुपर्ने वा डरैडरमा अस्पताल गएर भाइरस संक्रमित भएर मर्नुपर्ने अवस्था आउन सक्छ। महामारी नियन्त्रणको नाममा भाइरस विस्तार गर्ने व्यवस्थाले जनजीवन पीडादायी र निषेधाज्ञा निरर्थकमात्र हुनेछ।
स्वास्थ्य जाँचको यही मापदण्ड र व्यवस्था कायम रहेमा प्रत्येक अस्पतालहरु भाइरस संक्रमणका केन्द्र हुनेछन्। कोही अस्पताल गएर संक्रमित भई मर्नेछन् भने कोही घरमै रोग पालेर अनाहकमा मर्नेछन्। यस्तो अवस्थामा रोगीको व्यवस्थापन हुन नसकेर मानिसहरुले ज्यान गुमाउनेछन्। तिनीहरुको हेरविचार गर्ने कोही हुने छैनन्। यत्रतत्र लाशहरु सडेर त्यसबाट अझ भयानक महामारी फैलिएर कोही बाँकी रहन नसक्ने अवस्था आउन सक्छ। स्वच्छ वातावरणमा प्राकृतिक जीवात्मक खानपिन र स्वस्थ्य जीवनशैली भएका केहीबाहेक अधिकांशको ज्यान जान सक्ने खतरा रहेको छ। एउटा सानो गलत नीति र निर्णयले महाभयानक परिणाम भोग्नुपर्ने अवस्था आउन सक्छ।
पहिले सेतो कोटधारी स्वास्थ्यकर्मी आफ्नो टोल छिमेकमा पाउँदा खुसी महसुस गर्ने समाज आज किन तिनै सेतो कोटधारीलाई आफ्नो समाजमा बसेको पचाउनै नसक्ने गरी अभद्र र असहिष्णु देखिएको छ ? यस्तो महामारीको समयमा अहोरात्र अग्रभागमा खटिने स्वास्थ्यकर्मीको योगदानको कदर सम्मानको साटो समाज किन तिनीहरुमाथि अभद्र रुपमा प्रस्तुत भइरहेको छ ? कुरा प्रस्ट छ– जताततै भयावह रुपमा फैलिएको कोरोनाको प्रकोपसँग प्रत्यक्ष रुपमा लड्ने योद्धाहरुबाट भाइरस सर्न सक्ने त्रास।
लकडाउन र निषेधाज्ञाका कारण जनजीविका कठिन रहेको र भाइरस संक्रमणको यस्तै त्रास कायमै रहेमा समाज झनै उग्र र अभद्र नहोला भन्न सकिन्न। लकडाउन वा निषेधाज्ञा लम्बिँदै गएमा जनजीवन कष्टकर हुुँदै जाने, बाँच्ने आधार झनै टुट्ने र रोगले भन्दा पनि राज्यद्वारा सञ्चालित अस्तव्यस्ताले जीवन गुमाउनुपर्ने स्थिति आएमा समाज र सुरक्षा संयन्त्र तथा राज्यका केही वा सबै संयन्त्रबीच पनि द्वन्द्व बढ्न सक्छ। त्यस्तो स्थितिमा भाइरसले समाजमा के–कस्तो रुप लिन्छ अहिले नै भन्न सकिन्न।
रोकथाम र नियन्त्रण
विश्वव्यापी रुपमा भाइरसको भीषण संक्रमण रहेको असमान्य अवस्थामा भाइरसलाई देशमै प्रवेश गर्न नदिने र केही गरी प्रवेश भइहालेमा पनि समाजमा रोगको संक्रमण फैलिन नदिन यसको चेन बे्रक वा भाइरस प्रवाह हुने बाटो बन्द गर्नु नै उत्तम उपाय भएको कुरा मैले अघिल्ला लेखहरुमा उल्लेख गरेको थिएँ। तर सम्बन्धित जिम्मेवार पक्षहरुको जैरजिम्मेवार नीति, निर्णय र व्यवहारका कारण देशका अधिकांश भागमा भाइरसको प्रकोप बढेको छ। धेरैले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ, देशको अर्थतन्त्र धर्मराएको छ भने दिन प्रतिदिन नागरिक स्वास्थ्य तथा आर्थिक अवस्था झनै नाजुक बन्दै गएको छ। रोगको त्रास, जीविकोपार्जनको आधार गुम्ने अवस्था र अनिश्चित भविष्यको भूमरीमा रुमल्लिएको अवस्था कति महिना वर्ष रहन्छ कसैले यकिन भन्न सक्ने छैन।
अहिलेको विद्यमान संक्रामक विषम परिस्थितिबाट बच्न निम्न उपायहरु अवलम्बन गर्नु उपयुक्त हुन सक्छ।
भारतसहित बाह्य मुलुकबाट आउने नेपाली नागरिकलाई नाकामै वा नजिकै होल्डिङ सेन्टरहरुमा सुरक्षित र भरपर्दो जाँच गरेर संक्रमितको अवस्थाअनुसार आइसोलेसन सेन्टर वा भेन्टिलेटरसहितको कोरोना विशेष अस्पतालमा राख्ने र संक्रमण नदेखिएकाहरुलाई वडा कार्यालयको निगरानीमा सुरक्षित रुपमा कम्तीमा ३ हप्ता होम आइसोलेसनमा रहने गरी घर पठाउने र सोको अनुगमन गर्ने गराउने।
भाइरस संक्रमणको प्रकोप निमिट्यान्न नहुञ्जेल कर्मचारी सरुवा, काजमा पठाउने, अनुगमन र फिल्ड भ्रमण आदि काम पूर्ण रुपमा बन्द गर्ने (खासगरी सुरक्षित मानिएका क्षेत्रमा सरुवा गरी नपठाउने)।
सुरक्षित मानिएका अधिकांश हिमाली, पहाडी तथा केही अन्य क्षेत्रमा भाइरस फैलिन नपाओस् भनी बाह्य आवागमन कम्तीमा २ हप्ता बन्द गर्ने गराउने।
भारतीय सीमावर्ती क्षेत्र, काठमाण्डौ उपत्यकासहित जनघनत्व बढी भएका सहरहरु र संक्रमणको चपेटामा परिरहेका स्थानमा २ हप्ता कडा लकडाउन लगाउने र सो समयमा सम्भाव्य सबैको भरपर्दो पीसीआर चेकजा“च गर्ने गराउने। आवश्यकताअनुसार प्रत्येक वडामा पीसीआर टेस्टिङ बुथहरु स्थापना गर्ने गराउने वा निकै सस्तो र तुरुन्तै नतिजा निस्कने इजरायली प्रविधिको चेकजाँच प्रत्येक अस्पतालमा सानो छुट्टै युनिट खडा गर्ने व्यवस्था मिलाउने। जहाँ नियमित चेकजाँच र औषधोपचारका लागि गएका बिरामीहरुमा कोरोनाको शंका लागेमा त्यही सहज जाँचको सुविधा होस्। संक्रमण देखिएकाहरुलाई भने अवस्थाअनुसार सुरक्षित आइसोलेसन वा कोरोना विशेष अस्पतालमा राख्ने व्यवस्था मिलाउने।
निषेधाज्ञा लागू गरिएका स्थानमा अत्यावश्यक वस्तु तथा सेवाको खरिदबिक्री र ढुवानी निकै असुरक्षित रुपले भइरहेको देखिन्छ। तरकारी तथा फलफूल बजार, खाद्यान्न पसलहरु तथा बैंकमा निकै अव्यवस्थित असुरक्षित भीड देखिन्छ। केहीले मास्क लगाएकै हुँदैनन्, केहीले चिउँडो र निधार लगाएको त केहीले हातमा समातेको देखिन्छ। अरुको त के कुरा, ठूलाबडा मानिएका शासक र प्रशासकहरुमा नै लापरबाही देखिन्छ। निषेधाज्ञाकै बीच यसको सुरक्षित परिपालना भए नभएको अनुगमन गर्ने क्रममा तराईस्थित एक जिल्लाका प्रमुख जिल्ला अधिकारीले मास्क निधारमा लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। विश्वका शक्तिशाली राष्ट्रहरुलाई समेत हायलकायल पारेको यो भाइरसलाई हल्का रुपमा लिने र यससँग नजिस्केकै राम्रो हो। शासक, प्रशासकदेखि नागरिकसम्म सबैले सुरक्षित आनीबानी र जीवनशैली अपनाउन जरुरी छ।
कोरोनाबाट ज्यान गएको भनिएका गोदाबरी नगरपालिका कैलालीका व्यक्तिको टेस्ट गर्दा २ चोटी नेगेटिभ र २ चोेटी पोजिटिभ रिपोर्ट आएको भनिएको छ। स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा यस्तो त्रुटि कसरी हुन्छ ? कतै टेस्टिङ कीटहरु पहिलेदेखि नै संक्रमित त छैनन्। कारखानामा कीट निर्माणका क्रममा वा सप्लाई प्रणालीको लापरबाही वा प्रयोगशालामा संक्रमित स्वास्थ्यकर्मीको कमजोरीका कारण कीट नै संक्रमित भएर नतिजामा फरक परेको हो कि यसतर्फ सचेत हुन जरुरी छ। कारखाना वा सप्लाई प्रणालीबाटै कीटहरुमा संक्रमण भएको हो भने राम्रै मानिसलाई रोगको ट्याग लगाई समाजमा खतराको स्थिति पैदा गर्ने गराउने अपराध यथाशीघ्र बन्द गरियोस् अर्थात प्रयोग पूर्व भरपर्दो टेस्ट गरी टेस्टिङ कीटहरु सुरक्षित रहेको पक्का गरियोस्।
भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल प्रत्येक प्रदेशमा आवश्यक मात्रामा बनाउन चुकिसकेको सरकारले भर्खरैमात्र प्रत्येक अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गर्नु आत्मघाती कदम हो। यो निर्णयलाई तुरुन्त सच्च्याइयोस्। नत्र कोरोना मात्र नभएर सबै किसिमका बिरामीहरुमा कोरोना भाइरस सर्ने डरले सकभर घरमै रोग पालेर बस्ने छन्। अस्पताल गएमा त्यही“बाट झनै संक्रमण सबैतिर फैलिन सक्छ।
लकडाउन वा निषेधाज्ञा अवधिमै घना बस्तीदेखि केही टाढा बनेका, पर्याप्त हरियाली खुला स्थान भएका, स्वास्थ्यकर्मीका लागि आवासीय व्यवस्था भएका वा आवासको व्यवस्था मिलाउन सकिने, पर्याप्त भेन्टिलेटरको व्यवस्था भएका वा भेन्टिलेटरको व्यवस्था मिलाउन सकिने अस्पतालहरुलाई आवश्यक मात्रामा कोरोना विशेष अस्पतालको व्यवस्था यथाशीघ्र गरियोस् र कोरोना संक्रमितको उपचार कोरोना विशेष अस्पतालमा मात्र गर्ने व्यवस्था गरियोस् साथै कोरोना विशेष अस्पतालका चिकित्साकर्मीहरुको खानपिन र आवासको व्यवस्था सोही अस्पतालमा गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुनेछ।
निषेधाज्ञाको अवधिमै सम्भावित सबै स्थानमा व्यापक रुपमा सुरक्षित र भरपर्दो टेस्टिङ गरी संक्रमित पत्ता लगाउने, आइसोलेसन वा अस्पताल पठाउने र कोरोनाबाट सुरक्षित निकासको व्यवस्थापन गराउनुपर्छ।
कोरोना नभएको पुष्टि हुने कागज नहु“दा हाल अधिकांश सिकिस्त बिरामीहरुले उपचार नपाएर मर्नु परिरहेको छ। आवश्यक सुरक्षित औषधोेपचारको व्यवस्थाबाट कोही नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोरोना विशेष अस्पतालबाहेकका हाल सञ्चालनमा रहेका अस्पतालहरुमा बिना रोकटोक ढुक्कसँग चेकजाँच तथा औषधोपचारको सहज व्यवस्थापन यथाशीघ्र मिलाउनुपर्छ।
हाम्रो गाउँघरमै उपलब्ध प्राकृतिक स्वस्थ्य, जीवन्त र सन्तुलित ताजा खानपिन (उत्पादन बढाएर देशभर सर्वसुलभ हुने व्यवस्था होस्) र स्वस्थ्य सन्तुलित जीवनशैली अपनाएमा सबै किसिमका रोगहरुबाट धेरै हदसम्म बच्न सकिन्छ।
उपचार
कोभिड १९ को नियन्त्रण तथा उपचारका लागि हालसम्म भरपर्दो औषधि वा भ्याक्सिन पत्ता लागि नसकेको भए पनि विश्वका केही देशमा यसविरुद्धका खोपहरु परीक्षण भइरहेको छ। चीन, रुस तथा बेलायतमा निर्मित खोपहरुको तेस्रो परीक्षणका लागि नेपालले चासो देखाएको अवस्थामा पहिले नक्कली टेस्ट कीटहरु र पीसीआर मेसिनहरु भिœयाएजस्तो ज्यानमा दीर्घकालीन नकारात्मक असर हुने खालको परीक्षण नहोस् भन्नेतर्फ सचेत हुनुपर्ने हुन्छ। यसको सुरुआती खोप परीक्षणका क्रममा केहीको ज्यान गएको, केहीमा नराम्रो प्रतिक्रिया उत्पन्न भएको र पहिलेका अन्य खोपहरुमा केहीमा दीर्घकालीन नकारात्मक असरहरु जीवनभर अभिसापको रुपमा देखा परेकाले आत्तिएर अहिले हतारमा परीक्षण गरेर पछि पछुताउनेभन्दा खोपको विषयमा पर्ख र हेरको नीति अपनाउँदा उत्तम हुन्छ कि !
रेमडिसिभिर खासै प्रभावकारी नभए पनि कोभिड १९ को उपचारमा प्रयोग गरिएको यो औषधिको मूल्य भारतमा सस्तो रहेको र नेपालमा आधिकारिक फर्मबाट आयात गर्दा डेढ लाख अर्थात ३० गुणा महँगो रहेको कुरा समाचारमा आइरहेको छ। नेपालबाट ताजा कच्चा पदार्थ कौडीको भाउमा लगेर पुनः अर्बौं मूल्यमा मिति सकिएर रिप्रिन्ट गरिएका गुणस्तरहीन औषधिहरु आयात गर्नुको साटो नेपाली औषधि उत्पादकलाई राज्यले केही सहुलियत दिएमा त्यो र त्यस्तै विभिन्न ताजा प्रभावकारी औषधिहरु सस्तो मूल्यमा यही“ उत्पादन हुन सक्थ्यो। सबै किसिमका भाइरस नियन्त्रणमा प्रयोग हुने र रेमडिसिभिरकै समान सम्मिश्रण भएका नेपाली औषधिहरु छन् भने परीक्षणमा ल्याउ“दा हुन्थ्यो कि !
हिमवत् खण्डमा वैदिक परम्परा तथा परापूर्वकालदेखि प्राकृतिक आयुर्वेदिक उपचार पद्धति प्रचलनमा रहेको र प्राकृतिक सञ्जीवनी बुटीबाट मृतकलाई समेत बचाउने गरिएका उदाहरणहरु हाम्रा विभिन्न धर्मग्रन्थहरुमा पढ्ने गर्छौं। तर, व्यवहारमा चीन, भारत तथा केही पाश्चात्य मुलुकहरुले यसको महत्व बुझेर सदुपयोग गरे पनि उनीहरुसँग पर्याप्त स्रोत नहु“दा आयुर्वेदिकका साथै एलोपेथिक औषीधमा जोड दिएका छन्। तर हामीसँग औषधि होइन लाखौँ प्राकृतिक औषधिको भण्डारमा बसेर सामान्य रोगबाट पनि अनाहकमा हामीले ज्यान गुमाउनु परिरहेको छ। बेसार पानी, कागती, टिमुर आदि सेवन गरेमा रोग प्रतिरोधी क्षमताको विकास भई रोगले सजिलै नभेटाउने कुरामा त स्वयं सम्माननीय प्रधानमन्त्रीज्यू पनि सहमत हुनुहुन्छ।
आयुर्वेदिक डाक्टर बीपी तिमिल्सिनाले आफ्नै घरआँगनमै उपलब्ध हुने स्थानीय आयुर्वेदिक औषधिबाट करिब चार सयजना कोरोनाका बिरामीलाई पूर्ण रुपमा निको बनाएको दाबी गरेका छन्। राज्यले यसलाई प्राथमिकता दिएर देशभर अभियानकै रुपमा लागू गर्ने हो भने दुई हप्तामा यो रोग नेपालबाट बिदाइ गर्न सकिने उनको भनाइ छ। यो कुनै कठिन काम पनि छैन र यसमा धेरै ठूलो धनरासीको जरुरत पनि पर्दैन। राज्यले जसरी बाह्य देशका अपुष्ट खोेपको परीक्षणमा चासो दिएको छ त्यसैगरी देशभित्रै जताततै उपलब्ध ताजा जडीबुटीको व्यापक परीक्षण यथाशीघ्र अभियानको रुपमा लागू गरेमा सा“च्चै राम्रो नतिजा आउँछ कि ! यदि यो अभियान सफल भयो भने नेपालले छोटो अवधिमा यसबाट निकै ठूलो लाभ लिन सक्छ।
नागरिकहरु पनि सचेत भई सुरक्षित जीवनशैली अपनाएमा र समस्या समाधानमा राज्यद्वारा लागू गरिएका अभियानमा साथ दिई एकजुट भई लागेमा विद्यमान समस्याबाट चा“डो पार पाउन सकिन्छ कि !
लकडाउन या निषेधाज्ञा अहिलेको समाधान नभई रोकथामको एउटा माध्यममात्र भएको र राज्यको जिम्मेवार पक्षका गैरजिम्मेवार निकृष्ट गतिविधिका कारण परिस्थिति जटिल बनाइएको छ। विद्यमान समस्या बल्झाएर वा लम्ब्याएर ५ प्रतिशत उपयोग गरी ९५ प्रतिशत कमाउने तथा आफू बाँच्नका लागि देश र नागरिकलाई सिध्याउन उद्यत राज्यको निकायमा रहेकाहरु अब सचेत हुन जरुरी छ। समस्या समाधानमा खटिनुको सट्टा नागरिक र राज्य सञ्चालनका आधार स्तम्भ नरहने गरी फेरि पनि यही प्रकृतिको लकडाउन या निषेधाज्ञाको निरन्तरता नदिने।
कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार गर्दै सुरक्षित तरिकाले सम्पूर्ण आर्थिक गतिविधिहरुलाई चलायमान बनाउनमा ध्यान दिनु नै राज्यको पहिलो प्राथमिकता हो र हुनुपर्छ।
उपरोक्तमा सुझाइएका कार्यका साथै सकारात्मक प्रभावकारी अन्य कार्यहरु गरिएमा धेरै हदसम्म विद्यमान जटिल परिस्थितिबाट बच्न सकिनेछ। (लेखक पर्यटन व्यवसायी हुन् ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago