काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालमा लगानी विस्तार गर्न भारतलाई सुझाव दिएको छ।

नेपाल भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा परिसंघको कार्यालयमा भारतीय दूतावासका प्रतिनिधिसँग भएको छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस्तो सुझाव दिएका हुनु। नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई उद्धृत गर्दै मोरले नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने उल्लेख गर्दै लगानी विस्तार गर्न भारतलाई सुझाव दिएका हुन्। 

परिसंघमा धेरै लगानीकर्ताहरु आवद्ध रहेकोले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि सहज वातावरण बनाउन परिसंघ तयार रहेको अध्यक्ष मोरले बताए। राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्यो व्यवसायको वातावरण तयार गरेरमात्र देशको प्रगति हुन सक्ने उनको धारणा थियो। 

नेपाल र भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ। नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धिहरुले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको सन्दर्भ उल्लेख गर्दै परिसंघले त्यसलाई सहज बनाउँदै जानुपर्ने धारणा राखेको छ। 

नेपालमा उत्पादन हुने वस्तुहरु भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकोले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ। त्यसैगरी अतिरिक्त डिउटिज र चार्जहरु भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै परिसंघले यसलाई सहज गर्नुपर्नेमा जोड दिएको छ। 

छलफलमा भारतीय दूतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्यान्डर्डमा दुवै देशबीचमा समस्या देखिने गरेकोले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ त्यसर्फ ध्यान दिने बताए। यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नुपर्नेमा उनले जोड दिए। 

नेपालमा भारतीय लगानी विस्तार गर्नका लागि दूतावासका तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने धारणा उनले व्यक्त गरे। 

लगानीको वातावरण तयार गर्नका लागि आगामी दिनमा परिसंघ र दूतावासबीच छलफल गरी विभिन्न क्षेत्रका अवसरहरुलाई उजागर गरी लगानीकर्ताले चाहेको क्षेत्रमा लगानी विस्तार गर्न परिसंघले सहजीकरण गर्ने बताएको छ। उच्च प्राथमिकतामा लगानी गर्न चाहेका क्षेत्रहरुको पहिचान गरी सोही अनुसार लगानीको आगामी मार्गचित्र तयार गर्नु पर्ने धारणा परिसंघको रहेको छ। 

नेपालमा वैदेशिक लगानीका क्षेत्रहरु धेरै रहेकोले आईटी, गार्मेन्ट, शिक्षा, औषधी उत्पादन लगायतका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएकोले त्यसतर्फ पनि लगानी भित्र्याउन सकिने सम्बन्धमा छलफल भएको परिसंघले जनाएको छ। 

नेपाल सरकारबाट भारतलगायत सार्क मुलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएकोले आगामी दिनमा नेपालको निर्यात प्रवद्र्धनमा थप सहज हुने छलफलमा बताइएको छ। छलफलमा परिसंघका तर्फबाट उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो।