काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सफल भइसकेको इन्ट्रा डे सेयर ट्रेडिङ नेपालमा पनि संभव देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रवक्ता मुराहरी पराजुलीको नेतृत्वमा गठन भएको अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदनको प्रारम्भिक ड्राफ्टमा इन्ट्रा डे ट्रेडिङ अर्थात एकैदिन सेयर किन्न र बिक्री गर्न सकिने व्यवस्था संभव रहेको निश्कर्ष निकालिएको छ । 

हाल सो ड्राफ्ट कार्यदलका सदस्यहरुलाई आवश्यक अध्ययन गरी फिडब्याक दिन पठाइएको छ । 

पराजुली नेतृत्वको कार्यदलमा ब्रोकरहरुको तर्फबाट स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनाली र मर्चेन्ट बैंकको तर्फबाट एनआइबीएल एस क्यापिटलका मेखबहादुर थापा सदस्य छन् । उनीहरुलाई अध्ययन गर्न ड्राफ्ट पठाइएको र फिडब्याकसहित आएपछि समितिको बैठक बसेर प्रतिवेदनलाई फाइनल स्वरुप हुने तयारी भइरहेको पराजुलीले जानकारी दिए । 

हालसम्मको अध्ययनका आधारमा इन्ट्रा डे कारोबार नेपालमा पनि संभव भए पनि त्यसका लागि केही पूर्वाधार तयार गर्नुपर्ने देखिएको छ । नेपालका लागि नयाँ अवधारणा भएको र यसका लागि नीतिगत तहदेखि प्राविधिक हुँदै सरोकारवालाको तहसम्मका तयारीहरु हुनुपर्ने आवश्यकता रिपोर्टमा औंल्याइएको छ । 

अहिलेको विनियम र नियमावलीका ५ देखि ७ वटा बुँदामा संसोधन गर्नुपर्ने आवश्यकता देखिएको संयोजक पराजुलीले बताए । त्यसका लागि सम्बद्ध निकायहरुले जति चाँडो सहयोग गरे, त्यति चाँडो यो व्यवस्था कार्यान्वयनमा आउनसक्ने उनको भनाई छ । 

‘यस्तै, प्राविधिक रुपमा समेत आवश्यक तयारी गर्नुपर्ने हुन्छ । जस्तो इन्ट्रा डे कारोबारका लागि नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमीटेडको अहिलेको सिस्टममा केही फिचर्सहरु थप्नुपर्ने हुन्छ ।’ पराजुली भन्छन्–‘तेश्रो चाहिँ, सरोकारवालाहरु समेत यो व्यवस्था कार्यान्वयनका लागि तयार हुनुपर्छ । त्यो भनेको धितोपत्र बोर्ड, नेप्से, सिडिएस, ब्रोकर तथा लगानीकर्ताहरु समेत यो व्यवस्थाका लागि तयार हुनुपर्छ भन्ने हो ।’

इन्ट्रा डे कारोबारका लागि सेक्युरिटी लेण्डिङ र बरोइङको व्यवस्था हुनैपर्छ । यस्तै, सेन्टर काउण्टर पार्टी हाम्रोमा छैन, त्यो पनि चाहिन्छ । अक्सन मार्केट पनि अनिवार्य हुनुपर्छ । ‘अक्सन मार्केटको कुरा त धेरै अगाडि बढिसकेको छ । त्यसको कार्यविधि बनाएर स्वीकृतिका लागि धितोपत्र बोर्ड नै पठाइसकिएको छ ।’ पराजुलीले भने–‘यसरी हामीले प्रतिवेदनमा गर्नुपर्ने भनी उठाएका विषय सम्बोधन भएको खण्डमा नेपालको बजारमा समेत इन्ट्रा डे कारोबार संभव देखिएको छ ।’ 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि इन्ट्रा डे ट्रेडिङ संभव देखिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी बेलैमा भएको खण्डमा छिटोमा प्रतिवेदन आएको ६ महिनाभित्र यो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिने बताए । ‘नेप्से यो व्यवस्था सकेसम्म चाँडो कार्यान्वयनमा ल्याउने पक्षमा छ ।’ उनले थपे ।