काठमाण्डौ । नेपालमा कोरोनाको संक्रमण भूसको आगो झै फैलिइन थालेको विज्ञहरुले दाबी गरिरहँदा उपलब्ध तथ्याङ्कहरुले पनि यस्तै संकेत गर्न थालेका छन् ।
केही दिनअघि सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले सामाजिक सञ्जालमा ‘कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगो जस्तै सल्किँदै गएको मान्न सकिन्छ’ भनी लेखेका थिए । उनको स्टाटस झै कोरोना भाइरसको यूके भेरिएन्ट नेपालमा समेत भूसको आगो झै भित्रभित्रै फैलिइरहेको तथ्याङ्कहरुले देखाउन थालेका छन् ।
पछिल्ला केही दिनको कोरोना संक्रमणदरलाई हेर्ने हो भने अवस्था भयावह बन्दै गएको देखिन्छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार चैत २० गतेको तुलनामा २८ गतेको संक्रमणदर उच्च देखिएको छ ।
जस्तो, चैत २० गते ३ हजार ५६५ जनाको पीसीआर परीक्षण भएकोमा सो दिन १७९ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । यो भनेको ५.०२ प्रतिशत हो । यो संक्रमणदर चैत २६ गते आइपुग्दा ८.२८ प्रतिशतको उचाईमा पुग्यो । यो दिन४ हजार ६ जनाको पीसीआर टेस्ट गर्दा ३३२ जनामा संक्रमण पुष्टि भयो ।
यो दर चैत २८ गते आएर पुनः बढेको देखिएको छ । यो दिन देशभर ३ हजार ५३२ को पीसीआर परीक्षण हुँदा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भयो । यो भनेको ९.५४ प्रतिशत हो ।
यो बीचको दिनहरुको संक्रमणदर पनि उस्तै छ । जस्तो चैत २१ गते २ हजार ७२७ को पीसीआर परीक्षण गर्दा १२८(४.६९ प्रतिशत)मा, चैत २२ गते ३ हजार ४५६ को परीक्षण गर्दा १७६ जना(५.०९ प्रतिशत), चैत २३ गते ४ हजार ५३६ को परीक्षण गर्दा २६६ मा(५.८६ प्रतिशत), चैत २४ गते ४ हजार २४३ को परीक्षण गर्दा २६०(६.१२ प्रतिशत)मा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, चैत २५ गते ४ हजार १०० को परीक्षण गर्दा २९८ जना(७.२६ प्रतिशत)मा, २७ गते ४ हजार ७१ को परीक्षण गर्दा २८८(७.०७ प्रतिशत)मा संक्रमण पुष्टि भएको छ ।
विज्ञहरु कुनै पनि भाइरसको संक्रमणदर ५ प्रतिशतभन्दा माथि भयो भने अवस्था जटिल बन्दै गएको ठान्छन् । यसरी हेर्ने हो भने नेपालमा कोरोना भाइरसको दोश्रो चरणले निम्त्याउनसक्ने अवस्था निकै जटिल मात्र होइन, मापदण्डहरु पालना भएन र लापरबाही गरियो भने अवस्था भयावह बन्नसक्ने देखिएको छ ।
छिमेकी भारतमा अहिले एकदिनमै १ लाख ५२ हजारभन्दा बढी संक्रमितहरुको पहिचान हुन थालेको छ । भारतसँग खुल्ला सीमानाका रहेका कारण समेत नेपालमा त्यहाँको संक्रमण सहजै भित्रिएको र भित्रभित्रै फैलिइरहेको अनुमान गर्न गाह्रो छैन ।
हुन त सरकारले भीडभाड हुने क्षेत्रमा पर्याप्त मापदण्डहरु अपनाउन भनिसकेको छ । कोभिड १९ क्राइसिस म्यानेजेमन्ट सेन्टरको बैठकमा तत्कालका लागि ३ सातासम्म स्कूल, कलेज, फिल्महल, जिमहल लगायत बढी भीडभाड हुने क्षेत्र बन्द गर्नुपर्ने विषयमा समेत छलफल सुरु भइसकेको छ । तर, सरकारले ढिलो तयारी गर्दा र नागरिकहरुले पनि स्वास्थ्यका मापदण्ड पालनामा गम्भीर नबन्दा अवस्था नियन्त्रणबाहिर जान थालेको विज्ञहरुले दाबी गर्न थालेका छन् ।
यस्तो बेलामा सरकारको मात्र मुख नहेरी वा निर्णय नपर्खी नागरिक आफैंले सचेत भई स्वास्थ्यका मापदण्ड कडाईपूर्वक पालना गर्नुको विकल्प छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago