काठमाण्डौ । पछिल्ला दिनहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या घट्दै र निको हुनेको संख्या बढ्दै गइरहेको छ । नयाँ संक्रमितको संख्या घट्ने क्रमले आज पनि निरन्तरता पायो । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १६७ कोरोना भाइरसका नयाँ संक्रमित फेला परे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ ।

यीमध्ये ३ लाख ३३ हजार १०८ जना निको भइसकेका छन् भने १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् ।  

यो अवधिमा कोरोनालाई जितेर ५ हजार ४५५ जना डिस्चार्ज भएका छन् भने यो अवधिमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ४ हजार ८५६ पुगेको छ । 

देशभर संक्रमणको ग्राफ ओरालो लाग्दै गर्दा यही प्रवृति काठमाण्डौ उपत्यकामा समेत देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ हजार ९३७ संक्रमित थपिएका छन् । यीमध्ये काठमाण्डौमा २ हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ थपिएका हुन् । उपत्यकामा समेत कोरोना संक्रमित थपिने संख्या ओरालो लाग्न थालेको छ । 

जनस्वास्थ्यविदहरुले देशभर र काठमाण्डौ उपत्यकामा संक्रमणदर घट्न थालेको बताउँदै निषेधाज्ञाको कडा पालना गराउने कार्य अझै २ सातासम्म जारी राख्नुपर्ने र यसले संक्रमणको चेन ब्रेक गरी अवस्था निकै सहज बनाइदिने दाबी गरिरहेका छन् । कतिपयले नेपालमा कोरोनाको दोश्रो लहरको पिक अब सकिएको र यहीकारण संक्रमित थपिने क्रम घटेर गएको दाबी समेत पेश गरिरहेका छन् । केही दिनदेखि देखिएको निको हुने बढ्दो संख्या र संक्रमितको घट्दो संख्याले पिक सकिएर संक्रमण केही कमजोर हुन थालेको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।