काठमाण्डौ । अरब सागरमा विकसित भई गजुरात राज्य आसपासमा रहेको सामुद्रिक आँधी ताउ–तेको प्रभावले नेपालका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको अनुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले यो आँधीको प्रभाव अझै केही दिन नेपालमा रहने जनाएको छ। आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका भारी वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावनासमेत महाशाखाले जनाएको छ। 

वर्षाका कारण खोलानालामा जलप्रवाह बढोत्तरी हुने र यातायत क्षेत्रसमेत प्रभावित हुने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

भोलि बिहीबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुनुका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १÷२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

पर्सि शुक्रबार भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।