काठमाण्डौ । कोरोना संक्रमितका लागि उपयोगी मानिएको रेम्डेसिभिरको उत्पादन अब नेपालमै हुने भएको छ। 

औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योग नेसनल हेल्थकेयर प्रालिलाई रेम्डेसिभिल औषधि उत्पादन गर्न अनुमति दिएको हो। अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय (एफडीए) ले कोराना संक्रमितको उपचारमा रेम्डेसिभिरलाई आपत्कालीन प्रयोग अनुमति दिइसकेको छ।

नेसनल हेल्थकेयरद्वारा जारी विज्ञप्तिमा गत वैशाख ३१ गते उत्पादन र गत आइतबार बजार इजाजतसमेत पाएको उल्लेख छ। ‘नेसनल हेल्थकेयरद्वारा उत्पादित रेम्डेसिभिरको ब्रान्ड नेम रेम्सिभिर रहेको र प्रति भायलको अधिकतम खुद्रा मूल्य (एमआरपी) ३ हजार ५०० रुपैयाँ रहेको छ’, विज्ञप्तिमा भनिएको छ।

रेम्सिभिर नेपालभरिका आफ्ना वितरकहरुमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।