काठमाण्डौ। बहुपक्षीय कर्जादाता निकाय एसियाली विकास बैंक (एडीबी) ले  नेपाललाई १६ अर्ब ६० करोड बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ ।

नेपालको पर्यटन दिगो प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले एडीबीले सहायता उपलब्ध गराएको हो ।

उक्त रकम जीवनयापन सुधार परियोजना कार्यान्वयनमा उक्त सहायता परिचालन गरिनेछ ।परियोजनाले स्थानीय अर्थतन्त्र र पर्यटन विकासमा टेवा पुर्‍याउने छ ।

साथै परियोजनाले ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदा क्षेत्रलाई सुधार गर्नेछ र महिला तथा पिछडिएका समूहहरूको पहुँच र सामाजिक आर्थिक लाभका अवसरहरू बढाउन लैङ्गिक समानता र सामाजिक समावेशीकरण/उत्तरदायी सुविधाहरू समावेश गर्नेछ।

रूपन्देहीका देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका र कास्कीको पोखरा महानगरपालिकामा पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्र सबल बनाउन उक्त वित्तीय ‘प्याकेज’ एडीबीले हालैमात्र स्वीकृत गरेको हो ।

बैंकको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोपप्रतिरोधी शहर निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्र सुदृढ बनाउने र दिगो आर्थिक विकास गर्ने नेपाल सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको हो ।

उक्त वित्तीय प्याकेजअन्तर्गत ६० करोड रुपैयाँ अनुदान सहायता हो । शहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित नगरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन् ।