काठमाण्डौ । नेपालले आगामी असार महिनाभित्र दिगो विकास सम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसंघ अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने भएको छ । 

सो प्रतिवेदनका लागि राष्ट्रिय योजना आयोगले आज मंगलबार काठमाडौँमा राष्ट्रिय स्वेच्छिक समीक्षा कार्यशालामा आयोजना गर्दै विभिन्न क्षेत्रबाट सुझाव लिएको छ ।

आयोगले दिगो विकास लक्ष्यका सम्बन्धमा नेपालले सन् २०२३ सम्ममा हासिल गरेका उपलब्धिको समीक्षा र भाबि कार्यदिशाबारे राय–सुझाव लिएको हो । यसअघि नेपालले पहिलोपटक सन् २०१७ र दोस्रोपटक सन् २०२० मा समीक्षा गरेको थियो । अबको छ महिनाभित्रका तेस्रोपटक समीक्षा गरिने आयोगले जनाएको छ ।

कार्यशालाको उद्घाटन शत्रमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले गरिरहेको काम र नतिजाको समीक्षा, अरु देशका राम्रा अभ्यास, विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय तथा सहाकार्य र राय सुझाव लिनका लागि कार्यशाला आयोजना गरिएको बताए । 

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल पूर्णरुपमा प्रतिबद्ध रहेको र निर्धारित लक्ष्य प्राप्त गर्न संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहका सरकारले भूमिका निभाइरहेको उनको भनाइ छ । ‘दिगो विकास लक्ष्यको स्थानीयकरण भएको छ । आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा वार्षिक नीति तथा कार्यक्रम र बजेटले दिगो विकास लक्ष्यसम्बन्धी विषयलाई प्राथमिकताका साथ समेटेका छन् ।

दिगो विकास लक्ष्य प्राप्तिसँग जोडिएका योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनको काम प्रभावकारी ढङ्गले भएको छ’, उनले भने ।

आगामी आर्थिक वर्ष २०८१/०८२ बाट लागू हुनेगरी तयार भइरहेको १६ औँ पञ्चवर्षीय आवधिक योजनाले पनि अतिकम विकसित मुलुकबाट स्तरोन्नति र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने लक्ष्यसहित कार्ययोजनासहित मस्यौदा तयार भइरहेको श्रेष्ठले बताए । दिगो विकाससम्बन्धी तेस्रो राष्ट्रिय स्वेच्छिक समीक्षा तयार गर्नका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा रहेको दिगो विकास कार्यान्वयन तथा अनुगमन समितिले काम गरिरहेको छ । 

आयोगको आर्थिक व्यवस्थापन महाशाखाले सचिवालयको रुपमा काम गरिरहेको छ । नेपालले यो प्रतिवेदन आगामी जुलाईमा सयुक्त राष्ट्रसङ्घ अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने पनि उपाध्यक्ष श्रेष्ठले बताए । 

कार्यक्रममा संयुक्त राष्ट्रसंघको नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले गरिरहेका कामको प्रशंसा गर्नुहुँदै थप प्रगतिमूलक नतिजाका लागि प्रयास गर्नुपर्ने बताए ।

‘दिगो विकास लक्ष्य प्राप्तिमा नेपालको प्रगति प्रसंशनीय छ । विश्वका अरु केही देशको तुलनामा नेपालको प्रगतिको अवस्था राम्रो छ । तर तोकिएको समयभित्रै दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि हामी सबै पक्ष र क्षेत्र मिलेर थप प्रयास गर्न जरुरी छ’, उनले भने । अतिकम विकसित मुलुकको अध्यक्ष राष्ट्र भएका हैसियतले नेपाले दिगो विकास लक्ष्य र स्तरोन्नतिका काममा थप जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड छ ।

सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घका सबै सदस्य देशले दिगो विकास लक्ष्य (२०१६–२०३०) अनुमोदनका साथै कार्यान्वयन सुरु गरेका थिए । नेपालले पनि ‘नेपालका निम्ति दिगो विकास लक्ष्य २०१६–३० मार्गचित्र’ तयार गरी कार्यान्वयन गरेको छ । सन् २०२२ मा दिगो विकास लक्ष्य प्राप्तिको समीक्षा गरी वर्तमान अवस्था र भावी मार्गचित्र समेत निर्धारण गरेको छ । 

राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्याङ्कअनुसार दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले हालसम्म करिब ४३ प्रतिशत प्रगति हासिल गरिसकेको छ । एसिया प्यासिफिक क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोगको समन्वयमा कार्यशाला आयोजना भएको आयोगले जनाएको छ ।