काठमाण्डौ । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्दैछ। 

अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन प्रमुख कर्पोरेट साझेदार हो। यो अभियान थालनी भएको तेस्रो वर्ष भयो। 

यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान हो। पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य हो। सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सरसफाइ गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागि छन्। 

गत चैत २२ देखि आगामी जेठ ५ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ। संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिनेछ। 

प्रतिकूल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ।

हिमाल सरसफाइ अभियानका क्याम्पेन डिरेक्टरले भने, ‘हिमालहरु हाम्रा राष्ट्रिय गौरव हुन् र हाम्रो यस हिमाल सरसफाइ अभियानको नारा ‘हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ अनुसार समुदाय र भावी पुस्ताको लागि हिमालहरुको संरक्षण र सरसफाइ गर्ने हाम्रो कर्तव्य हो। यसका साथ–साथै यी हिमालहरुमा बढ्दै गरहेको फोहोरको बारेमा जनचेतना जगाउनको लागि पनि हामीले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायहरुसँग मिलेर काम गरिरहेका छौँ। यसमा हामीलाई कोका–कोला फाउन्डेसन र अन्य सम्पूर्ण सरोकारवाला निकायहरुबाट प्राप्त निरन्तर साथ र सहयोगका लागि  हामी आभारी छौँ।’

कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरुलाई हाइड्रेसन र रिफ्रेसमेन्टका लागि पेय पदार्थहरु पनि उपलब्ध गराएको छ। 

कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भने, ‘हिमालहरु सफा गर्ने र यसै कामका लागि समान विचारधारा भएका साझेदारहरुलाई एकताबद्ध गराउने नेपाली सेनाको प्रयास वास्तवमै सराहनीय छ। नेपालका गौरव यी हिमालहरुको पवित्रता जोगाइराख्ने नेपाली सेनाको यो साहसिक काममा तेश्रो वर्ष पनि हामी जोडिन पाउँदा गौरवान्वित महसुस गरेका छौँ। कोका–कोला फाउन्डेसन यस्ता सामुदायिक रि–साइक्लिङ परियोजनाहरुमा सहयोग गर्न सदैव प्रतिबद्ध छ। यो सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न हुनेछ भन्नेमा हामी विश्वस्त छौँ र संलग्न सम्पूर्णमा सफलताका लागि शुभकामना दिन चाहन्छौँ।’

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालासँगको सहकार्यमा सन् २०१९ मा पहिलोपटक आयोजना गरिएको यस हिमाल सरसफाइ अभियानमा १० हजार ५८६ किलो फोहोर संकलन भएको थियो। सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो। जसमा ६ वटा हिमालबाट २७ हजार ६७१ किलो फोहोर निकालिएको थियो। 

हिमालबाट संकलन हुने यस्ता फोहोरमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनर, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्दछन्।