काठमाण्डौ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहँदै आएको छ । यसमा पुनर्विचारको माग वर्षौदेखि उठे पनि त्यो सम्बोधन भएको छैन । यहीकारण भारतीय रुपैयाँ जति–जति अमेरिकी डलरसँग अवमूल्यमा पर्छ, त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि पर्छ ।
पछिल्लो समय अमेरिकी डलर बलियो बन्दै जाँदा भारतीय रुपैयाँ कमजोर हुँदै जानु र त्यसको प्रभावकै कारण नेपाली रुपैयाँ पनि कमजोर बनेको हो ।
अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यन बढ्दै गयो भने हाम्रोजस्तो मुलुकका लागि राम्रो होइन । आयातमा आधारित अर्थतन्त्र भएको मुलुक र निकै धेरै वैदेशिक ऋण थाप्लोमा राखेर अगाडि बढेको नेपालजस्तो मुलुकका लागि नेपाली मुद्रा अवमूल्यनमा पर्नु र अमेरिकी डलरको भाउ बढ्दै जानुले ठूलै सकसमा पार्छ ।
भारतीय रुपैयाँ र अमेरिकी डलरबीचको अन्तरसम्बन्धमै नेपाली रुपैयाँको मूल्य अन्तरनिहीत हुने खराब व्यवस्थाबाट गुज्रिरहेका हामीले भारुको मूल्य चाहि कसरी तय हुन्छ भन्ने कुरा सायदै बुझेको हौला । आज हामी त्यही विषयमा बुझाउन खोजिरहेका छौं । कसरी तय हुन्छ त नेपालसँग स्थिर विनिमय दर रहेको भारुको मूल्य ?
तपाईलाई अचम्म लाग्नसक्ला कि सन् १९९१ मा मात्रै पनि एक अमेरिकी डलर बराबर २२.७४ भारु हुने मूल्य कायम थियो । सन् २००१ मा भारुको मूल्य एक अमेरिकी डलर बराबर ४७.१९ कायम भयो । तर, २०२२ को अक्टोबरमा भने डलरको तुलनामा भारुको मूल्य सर्वाधिक ८३.२६ को उचाईमा पुग्यो ।
केही समयअघि भारतीय सञ्चारमाध्यमहरुमा भारतकी वित्तमन्त्री निर्मला सीतारमणको एउटा भनाई भाइरल बनेको थियो । उनले भनेकी थिइन्–‘म भारुको भाउ घटेको रुपमा यसलाई बुझ्दिँन, बरु यो त अमेरिकी डलर चाहिँ मजबुत बन्दै गएको अवस्था मात्र हो ।’
उसो भए के डलर नै भारुको मूल्य तय गर्छ त ? केही हदसम्म डलरले नै भारुको मूल्य तय गर्छ । तर, यसको पछाडि एउटा विज्ञान हुन्छ । किनभने भारुको मूल्य तय गर्ने फ्याक्टर्स धेरै हुन्छन् ।
ब्याजदर एउटा कारण
यसलाई सजिलो रुपमा बुझ्नका लागि एउटा उदाहरण हेरौं । यदि तपाईलाई थाहा भयो कि कुनै लगानी उपकरणको ब्याजदर निकै बढ्यो भने तपाई के गर्नुहुन्छ ? पक्कै पनि आफूसँग भएको बढी पैसा बढी ब्याज पाइने त्यही उपकरणमा लगानी गर्नुहुन्छ । किनभने त्यही निश्चित रिटर्नको ग्यारेण्टी हुन्छ ।
यस्तै अवधारणा यहाँ पनि लागू हुन्छ । यूएस फेड(अमेरिकी केन्द्रीय बैंक) पछिल्लो समय लगातार ब्याजदरमा वृद्धि गरिरहेको छ, जसका कारण अमेरिकी डलर एक आकर्षक लगानी उपकरण बनिरहेको छ । विश्वभरका ठूला लगानीकर्ता दोश्रो देशबाट पैसा निकालिरहेका छन् र धमाधम अमेरिकी डलरमा लगानी गरिरहेका छन् । जसका कारण डलर पहिलाभन्दा अहिले मजबुत बन्दै गइरहेको छ ।
आरबीआई चाहिँ किन बढाइरहेको छ त ब्याजदर ?
अमेरिकाको केन्द्रीय बैंक यूएस फेडले लगातार ब्याजदर बढाइरहेको छ । जसका कारण विश्वभरका लगानीकर्ताले विभिन्न देशबाट पैसा निकालेर अमेरिकामा लगानी गरिरहेका छन् । यदि कुनै देशले आफ्नोबाट समेत ठूलो पैसा अमेरिका नजाओस् भन्ने चाहने हो भने त्यहाँ पनि ब्याजदर नबढाई सुख छैन । यहीकारण रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले पनि ब्याजदर बढाइरहेको छ, ताकि कुनै पनि लगानीकर्ता भारत छाडेर अमेरिका नजाउन् । नेपालमा समेत यस्तै थ्योरीले काम गरेको हुन्छ ।
अन्तर्राष्ट्रिय व्यापार
विभिन्न देशमा केन्द्रीत ठूला लगानीकर्ताले तत् देशबाट पैसा निकालेर अमेरिकामा लगानी गरिरहेका छन् । यसले विश्वभरको देशमा डलरको अभाव भइरहेको छ । यसको परिणाम उच्च मागको रुपमा देखापर्छ । यदि कुनै देशमा निर्यात धेरै र आयात कम हुन्छ भने त्यस्तो देशको विदेशी मुद्राको सञ्चिती बढ्न जान्छ । यहीकारण त्यस्तो देशले बजारबाट डलर खरीद गर्नका लागि आफूले सञ्चिती गरेको मुद्रा खर्च गर्नुपर्दैन । यसले अमेरिकी डलरको तुलनामा त्यो देशको मुद्राको मूल्य बढ्छ ।
तर, भारत र नेपालमा यस्तो छैन
भारत र नेपालकै वैदेशिक व्यापार आफ्नो पक्षमा छैन । हामीले जति रकम बराबरको निर्यात गर्छौ, त्योभन्दा कयौं गुणा बढी आयात गर्छौ । आयातका लागि हामीले डलरमा भुक्तानी गर्नुपर्छ । यदि हामीले विश्वभर डलरको अभाव भइरहेकै बेला डलर खरीद गर्नुपर्ने अवस्थामा छौं भने त्यस्तो डलर खरीद गर्नका लागि भारु वा नेरु अरु बेलाको भन्दा बढी खर्च गर्नुपर्छ । यसले देशको मुद्रा सञ्चितीमा निरन्तर दवाब पर्छ ।
मौद्रिक नीतिको पनि असर पर्छ
रिजर्ब बैंक अफ इण्डियाले मौद्रिक नीतिकै कारण ५०० रुपैयाँको नोटको मूल्य प्रत्येक दिन बदलिरहेको हुन्छ । यो यसकारण कि भारतीय केन्द्रीय बैंक भारुको माग र आपूर्तिमाथि नियन्त्रण बनाइराख्नका लागि विभिन्न मुद्राहरु खरीद गर्दै बिक्री गरिरहेको हुन्छ । ताकि रुपैयाँको मूल्य स्थिर रहोस् । यसबाहेक रिपो रेट तथा तरलता अनुपातजस्ता सूचकहरुमा हुने परिवर्तनले पनि रुपैयाँको मूल्यमा प्रभाव पर्छ ।
सर्वसाधारणमा पर्ने असर
यदि तपाई विदेशमा गएर अध्ययन गर्ने योजना बनाइरहनुभएको छ भने र यहीबेला रुपैयाँको मूल्य घट्यो भने तपाईले अरुबेलाभन्दा बढी भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तै, विदेशमा बस्दाको तपाईको खर्च पनि बढ्छ ।
सन् २०२२ मा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्यमा ९.८ प्रतिशतको गिरावट आइसकेको छ । यसले हाम्रो आयात अझै महङ्गो हुँदै गएको देखाउँछ ।
जब रुपैयाँको मूल्य घट्न थाल्छ, यसको असर सामान्य मानिसको गोजीसम्म पर्न जान्छ । रुपैयाँको अवमूल्यनले प्रत्यक्ष र अप्रत्यक्ष दुवै ढंगले देशका नागरिकहरुमा प्रभाव पारिरहेको हुन्छ ।
(यो रिपोर्टमा केही भारतीय एजेन्सीको समेत सहयोग छ)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago