काठमाण्डौ । अमेरिकी डलरको तीव्र अवमूल्यन हुँदा शुक्रबार नेपाली मुद्रा यो वर्षकै सबैभन्दा बलियो स्तरमा पुुगेको छ । 

विगत केही दिनदेखि ओरालो लाग्न थालेको डलर २०७३ सालकै सबैभन्दा तल्लो स्तरमा पुुगेको हो । डलर अवमूल्यन हुँदा नेपाली रुपैयाँ बलियो बनेको छ । 

शुक्रबार नेपाल राष्ट्रबैंकले एक अमेरिकी डलरको खरीद दर १०४ रुपैयाँ ४२ पैसा र बिक्री दर १०५ रुपैयाँ २ पैसा तोकेको छ । यो वर्ष यति सस्तो दरमा डलर यसअघि खरीद गर्ने अवसर आएको थिएन । 

यो वर्ष डलरको अवमूूल्यन यात्रा २० माघदेखि सुरु भएको थियो । सो बेला माघ १९ मा १०८ को स्तरमा रहेको डलरको मूल्य १०७ को स्तरमा झरेको थियो । त्यसपछि डलरको खरीद दर १०६ को स्तरमा निरन्तर रहिरहेकोमा चैत २ गते बुधबार केही तल झरेको थियो । सो दिन डलरको खरीद दर १०५ रुपैयाँ ५८ पैसा र बिक्री दर १०६ रुपैयाँ १८ पैसा कायम भएको थियो । 

बिहीबार डलरको खरीद दर १०४ रुपैयाँ ७४ पैसा र बिक्री दर १०५ रुपैयाँ ३४ पैसा कायम भएको थियो । शुक्रबार यो दर अझ घटेर खरीद दर १०४ रुपैयाँ ४२ पैसा र बिक्री दर १०५ रुपैयाँ २ पैसाको स्तरमा झरेको हो । 

विज्ञहरुका अनुसार डोनाल्ड टम्प अमेरिकाको राष्टपतिमा निर्वाचित भएपछि अमेरिकी अर्थतन्त्र कमजोर बनिरहेको छ, यहीकारण समेत डलरको मूल्य तीव्र अवमूल्यनमा परेको छ । पछिल्लो समय नेपाली अर्थतन्त्रमा सुधार भइरहेको छ, यो प्रभावले नेपाली रुपैयाँ बलियो बन्दै गएको हो । 

के घाटा, के नाफा ?
डलरको भाउ वर्षभरिकै तल्लो स्तरमा झर्दा हाम्रो जस्तो देशलाई नाफा पनि छ र घाटा पनि । विदेशबाट आयात हुने सामान डलरको भाउ घट्दा सस्तिनेछ भने निर्याततर्फको आम्दानी घट्नेछ ।

यस्तै, देशले तिर्नुपर्ने वैदेशिक ऋणको भार डलरको भाउ घटेपछि कम पर्नेछ भने विदेशबाट रेमिटान्सको रुपमा नेपाल भित्रिने रकमको आकार घट्नेछ । देशको अर्थतन्त्र रेमिटान्समा आधारित छ, यसको अर्थ डलरको भाउ घटेर रेमिटान्स घट्दा यसले धेरै पक्षलाई नकारात्मक प्रभाव पार्नेछ । डलरको भाउ घट्दा पेट्रोलियम मूल्य समेत केही घट्नसक्छ । यसो हुन सकेको खण्डमा सार्वजनिक यातायात तथा ढुवानी खर्च कम भई उपभोक्ता मुद्रास्फिति समेत कम हुनेछ ।