काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्रान्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरुको पहिचान र अन्तर्राष्ट्रिय ब्रान्डिङको आवश्यकतामा मल्लले जोड दिए।

नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिबार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यातयोग्य वस्तुहरुको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताए। मुलुकमा वार्षिक १० खर्ब हाराहारीमा निर्यात सम्भावना रहेको उनको भनाइ थियो। ‘मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा छ। स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरुको पहिचान हुन सकेको छैन। निर्यात भइरहेका वस्तुहरुको पनि ब्रान्डिङ हुन सकेको छैन’, उनले भने, ‘चिया, कफीजस्ता वस्तुहरुको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन।’

नेपाली वस्तुहरुको निर्यात सहजीकरणका लागि मुख्य–मुख्य भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब स्थापना गर्नुपर्नेमा मल्लले जोड दिए। 

अर्को प्रसंगमा अध्यक्ष मल्लले करको दरभन्दा पनि दायरा बढाउनतर्फ सरकारको ध्यान जानुपर्ने बताए। राजश्व ६० प्रतिशत हाराहारीमा मात्रै संकलन भएको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा सरकारी स्रोत नै संकुचित हुन पुगेको बताए। केही वस्तुहरुको आयात प्रतिबन्ध लाग्दा राजश्वमा गम्भीर असर परेकाले करको दायरालाई फराकिलो बनाउनुपर्नेमा उनले जोड दिए। 

मुलुकको आर्थिक नीतिमा सबै दलहरु एकै ठाउँमा उभिनुपर्नेमा मल्लले जोड दिए। बजेटलाई वितरणमुखीभन्दा पनि उत्पादनमुखी बनाउनुपर्नेमा सबै दलहरुको एउटै धारणा बन्नुपर्ने उनको भनाइ थियो। 

अध्यक्ष मल्लले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी राज्यको नीति बन्नुपर्नेमा पनि जोड दिए।