काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्चको आइतबार भएको १९ औँ वार्षिक साधारणसभामार्फत २०८०-८१ का लागि साहारा जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। 

सभा ‘नेसन फर्स््ट’ भन्ने नारामा केन्द्रित भएको थियो। ‘नेसन फर्स्ट’ भन्ने नारालाई केन्द्रमा राखेर यस वर्षका गतिविधिहरु मेड इन नेपाल उद्यमी र उनीहरुका उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा मेड इन नेपाल प्रदर्शनी आयोजना गरिएको थियो। 

यसका साथै यस वर्षको उद्देश्य च्याप्टरलाई सुदृढ गर्ने, संगठनात्मक दृश्यता बढाउने र राज्यका तीनवटै तहमा बलियो प्रभाव पार्ने पनि समावेश थियो। 

सभाको उद्घाटन मन्त्री रमेश रिजालले गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिका रुपमा रहेका थिए। कार्यक्रममा विभिन्न साझेदार संस्थाका आमन्त्रितहरुको पनि उपस्थिति थियो।

सभाले अध्यक्षमा साहारा जोशी, तत्कालीन पूर्वअध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्षमा कुशलसुन्दर श्रेष्ठ, दोस्रो उपाध्यक्षमा निभिता प्रधान र महिला उपाध्यक्षमा ऋचा श्रेष्ठलाई चयन गरेको छ।

यसैगरी कार्यकारिणी सदस्यहरुमा बिलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, आभूषण ज्योति कंसाकार र युनेशराज श्रेष्ठ चयन भएका छन्। 

सभामा फोरमका विगतका गतिविधि र भावी पहलका बारेमा पनि प्रस्तुति गरिएको थियो। 

नवनिर्वाचित अध्यक्ष जोशीले २०८०-८१ का लागि आफ्नो योजना पेस गरेकी थिइन् भने अन्य सबै समिति सदस्यहरुले फोरमको मूल मूल्यमान्यताअनुरूप उद्यमशीलता र विकासको भावनालाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहोरयाए।