काठमाण्डौ । नेपाल इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन्। 

नेपाल इटली चेम्बरको सोमबार बसेको दोस्रो बैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो। लामो समयदेखि शिक्षा क्षेत्रसँग आबद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपलसमेत हुन्। 

नेपाल इटली चेम्बर अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा बसेको यो बैठकले विभिन्न विषयगत समिति पनि गठन गरेको छ। 

चेम्बरका अनुसार कार्यसमिति सदस्य सरिक बोगटीको संयोजकत्वमा पर्यटन प्रवर्द्धन समिति, विनोद सग्तानीको संयोजकत्वमा उद्योग तथा लगानी प्रवर्द्धन समिति, सुवासविक्रम शाहको संयोजकत्वमा व्यापार तथा आर्थिक प्रवर्द्धन समिति गठन भएको छ।

यस्तै कार्यसमिति सदस्य किशोर भट्टराईको संयोजकत्वमा संस्कृति, खेलकुद शिक्षा तथा सामाजिक प्रवर्द्धन समिति गठन भएको छ।  

संघका अध्यक्ष अग्रवालका अनुसार विषयगत ४ समितिले नेपाल र इटलीबीच आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारका क्षेत्रमा काम गर्ने भएको छ। 

इटलीका लगानीकर्ता तथा पर्यटकलाई नेपालमा आमन्त्रण गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा सम्बन्ध विस्तार गरिने अध्यक्ष अग्रवालले बताए। इटलीका पर्यटन व्यवसायी तथा लगानीकर्तालाई नेपालको पर्यटकीयस्थल भ्रमण गराउने निर्णय बैठकले गरेको छ। 

बैठकले इटली र नेपालका अन्य विभिन्न क्षेत्रका व्यवसायीबीच छलफल गराउने निर्णय पनि गरेको छ।