काठमाडाैँ। नेपाल सेवा लघुवित्तले बुधबार(आज)देखि साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गरेको छ । 
 
लघुवित्तले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।
 
एकसय रुपैयाँँ अकिंत दरका शेयर न्युनतम ५० कित्ताबाट आवेदन गर्न पाइनेछ । यसको अर्थ साथमा ५ हजार रुपैयाँ भएका सर्वसाधारणले समेत आवेदन गर्न पाउने भएका छन् । वैशाख १६ सम्म अावेदन गर्न सक्ने व्यवस्था गरिएकाे छ । 
 
अधिकतम ९ सय कित्तासम्म आवेदन दिनसक्ने  व्यवस्था गरिएको भए पनि ५ हजार रुपैयाँ मात्र आवेदन गर्नु बुद्धिमानी हुने देखिन्छ ।  पुगेसम्म न्यूनतम १० कित्ता प्रत्येक आवेदकलाई बाँडफाँट गर्नैपर्ने धितोपत्र बोर्डको निर्देशन भएकाले ५ हजारभन्दा बढीको आवदेन गर्ने आवेदकलाई पनि १० कित्ताभन्दा धेरै शेयर पर्ने संभावना छैन ।  
 
लघुवित्तले जारी पूँजीको ३० प्रतिशत आइपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो । एक लाख ८० हजार कित्तामध्ये ३ हजार ६ सय कित्ता सोही संस्थाका कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ९ हजार कित्ता सामूहिक लगानी कोषका लागि विनियोजन गरिएको छ ।
 
साधारण शेयर निष्काशनका लागि लघुवित्तले एनएमबी क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ । शेयर खरीदका लागि आवेदन दिन इच्छुक लगानीकर्ताले विक्री प्रबन्धकका साथै सी–आश्वा सेवा मार्फत् आफ्नो बैंक खाता रहेको वित्तीय संस्थामा गई आवेदन दिन सक्नेछन् । यसका साथै सबै प्रक्रिया पूरा गरी मेरो शेयरमा दर्ता भएका लगनीकर्ताले घरमै बसीबसी मेरो शेयरको अनलाईन पोर्टलमा गई आवेदन दिन सक्नेछन् । 
 
संस्थापकबाट शतप्रतिशत हकप्रद जारी गरी ४ करोड २० लाख चुक्ता पूँजी बनाएको लघुवित्तको आइपीओ पछि ६ करोड चुक्ता पूँजी पुग्नेछ । लघुवित्तले सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्लामा आठ वटा वटा शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ ।