काठमाण्डौ । वार्षिक साधारणसभाबाट पारित भएको आईपीओ निष्कासनको प्रक्रिया साढे २ महिनाभन्दा बढी समयपछि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अगाडि बढाएको छ ।

गत जेठ अन्तिममा सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले आईपीओ निष्काशनको लागि हिजो आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेको हो । कम्पनीले रु. १०० अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन अनुमति मागेको छ । सेबोनबाट अनुमति पाएपछि कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछ ।

यो कम्पनीले निष्काशनको तयारी गरेको आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ प्रदान गरेको छ । ग्रेड २ रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको जनाउँछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।