काठमाण्डौ । नेपाल बैंक लिमिटेडले पारित लाभांश वितरण गर्नका लागि आफ्ना सेयरधनीहरुलाई डिम्याट खाता खोल्न र डिम्याट खाता रहेकाहरुलाई बैंक खाता अद्यावधि गर्न आग्रह गरेको छ ।

सेयरधनीहरुले लाभांश वितरणमा ढिलाइ भइरहेको गुनासो गर्न थालेपछि नेपाल बैंकले यस्तो आग्रह गर्दै छिटै लाभांश वितरण प्रक्रिया थाल्ने जनाएको छ ।

नेपाल बैंकको गत पुस २५ गतेसम्म ६० औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (लाभांश करसहित) र १५ प्रतिशत बोनस सेयर पारित भइसकेको छ ।

हालसम्म पनि बिभिन्न शेयरधनीको ४ हजार ५४६ वटा खाताहरु डिम्याट नभएको र १ हजार २८१ प्लेजमा रहेको जानकारी गराउँदै बैंकले डिम्याट गर्न बाँकी शेयरधनीले यथाशीघ्र डिम्याट खोल्न र बैंक खाता अद्यावधि गर्न आग्रह गरेको छ ।

सिभिल क्यापिटल मार्केट्स लिमिटेडबाट सम्पूर्ण हस्तान्तरण योग्य तथा ननप्लेज सेयरधनीहरुको बिबरण प्राप्त भइसकेको हुँदा बाँकी रहेको नगद लाभांश बितरण नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा छिट्टै गरिने बैंकले जनाएको छ ।