काठमाण्डौ । नेपाल एसबीआई बैंकले आज मंगलबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ ।

बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको '१०% नेपाल एसबीआई बैंक ऋणपत्र-२०८६' निश्कासन गरेको हो ।

प्रतिकित्ता १००० दरका कुल २५ लाख इकाइको ऋणपत्रमध्ये १५ लाख इकाइ ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १० लाख इकाइ ऋणपत्रले हुने आउने कुल १ अर्ब ऋणपूँजी रकम (सोमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाइ ऋणपत्र सामूहिक लगानी कोष लागि छुटाइएकोसमेत) सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

ऋणपत्रमा  छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन २८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । न्यूनतम २५ इकाइ र अधिकृतम १० लाख इकाइसम्म आवेदन दिन पाइनेछ ।

१० वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट वाणिज्य बैंकहरुलाई ऋणपत्र निश्कासनको अनिवार्य व्यवस्था गरेसँगै यो बैंकले समेत ऋणपत्र निश्कासन गर्न लागेको हो । 

यो बैंकले निश्कासन गर्न लागेको ऋणपत्रलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले उच्च मात्रामा सुरक्षितको मानक मानिने 'इक्रा एनपी एल एए'को रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाउने कम्पनीको ऋणपत्रमा लगानी गर्नु जोखिमपूर्ण मानिँदैन ।