काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडको रु. २ अर्ब ५० करोडबराबरको ऋणपत्रमा खरिद आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ।

गत माघ २८ गतेदेखि बैंकले '१०% नेपाल एसबीआई बैंक ऋणपत्र-२०८६' बिक्री खुलाएको थियो। ऋणपत्रमा  छिटोमा फागुन २ गतेसम्म र ढिलोमा आज (फागुन २८ गते) भित्र आवेदन दिइसक्नुपर्ने भनिएको थियो।

प्रतिकित्ता १००० दरका कुल २५ लाख इकाइको ऋणपत्रमध्ये १५ लाख इकाइ ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १० लाख इकाइ ऋणपत्रले हुने आउने कुल १ अर्ब ऋणपूँजी रकम (सोमध्ये ५% अर्थात ५० हजार इकाइ ऋणपत्र सामूहिक लगानी कोष लागि छुटाइएकोसमेत) सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

न्यूनतम २५ इकाइ र अधिकृतम १० लाख इकाइसम्म आवेदन दिन पाइनेछ।

१० वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ। 

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट वाणिज्य बैंकहरुलाई ऋणपत्र निश्कासनको अनिवार्य व्यवस्था गरेसँगै यो बैंकले समेत ऋणपत्र निश्कासन गर्न लागेको हो। 

यो बैंकले निश्कासन गर्न लागेको ऋणपत्रलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले उच्च मात्रामा सुरक्षितको मानक मानिने 'इक्रा एनपी एल एए'को रेटिङ प्रदान गरेको छ। यस्तो रेटिङ पाउने कम्पनीको ऋणपत्रमा लगानी गर्नु जोखिमपूर्ण मानिँदैन।