काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १ अर्ब ६० करोड रुपैयाँबराबरको आईपीओमा आज मंगलबारबाट खरिद आवेदन खुला गरिएको छ। 

यो कम्पनीले चुक्तापूँजीको १६ प्रतिशतबराबरको साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुलाउन लागेको हो। कम्पनीले रु. १०० अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। कुल साधारण सेयरमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता सेयर (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी रहने १ करोड ५१ लाख २६ हजार ५०० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गरिएको हो । 

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्रापित गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सकिनेछ। 

सेयर निष्कासन छिटोमा चैत ७ गते र ढिलामा चैत १८ गते बैकिङ समयपछि बन्द गरिनेछ। 

यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ प्रदान गरेको छ। ग्रेड २ रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको जनाउँछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ।