काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी (एनआरआईसी)को सेयरमूल्य दुई सातामै दोब्बर हाराहारीमा वृद्धि भएपछि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले अनुसन्धान थालेका छन् । 

नेप्सेले कुनै पनि कम्पनीको सेयरमूल्यमा अस्वभाविक उत्तारचढाव आएपछि अनुसन्धान गर्ने गर्दछ । यसअघि पनि एक ब्रोकरले अड लटमा कम्पनीको सेयरको मूल्यमा प्रभावित पार्ने प्रयास गरेपछि नेप्सेले अनुसन्धान गरी दोषी ब्रोकरको कारोबार निलम्बनको कारबाही गरेको थियो । 

नेप्सेस्थित उच्च स्रोतले नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा बढोत्तरी आउनुका कारणबारे यकिन गर्न अनुसन्धान भइरहेको जनाएको छ। एनआरआईसीको सेयरमूल्य पछिल्लो दुई सातामा भएको बढोत्तरीको तथ्यबारे समेत मिहीन अध्ययन थालिएको छ । 

नेप्सेका एक अधिकारीले कुनै पनि सेयरमूल्यमा अस्वभाविक उत्तारचढाव आएपछि अनुसन्धान गर्ने गरेको जानकारी दिए। स्रोत भन्छ, ‘दुई सातामै कम्पनीका बारेमा कुनै विशेष कार्य, सूचना र जानकारी प्रवाह नभई अस्वभाविक र तीव्र गतिमा मूल्य उकालो लागेपछि चलखेलको आशंका भएकाले अनुसन्धान गर्नुपरेको हो।’ 

सेयर कर्नरिङ गर्ने वा कम्पनीको सेयरमूल्यमा अप्राकृतिक चलखेल गरी महँगोमा सेयर बेच्ने गिरोह वा समूहको तीनपुस्ते विवरणसहित सूक्ष्म ढंगले अध्ययन भइरहेको स्रोत दाबी गर्छ । 

उता, नेपाल धितोपत्र बोर्डले समेत केही दिनबाट एनआरआईसीको सेयरमा अनुसन्धान थालिएको दाबी गरेको छ। बोर्डस्थित एक अधिकारीले यस विषयमा अझै मिहीन ढंगले अध्ययनलाई अघि बढाइने जानकारी दिए। 

बोर्डका अधिकारीहरुले प्रारम्भिक अध्ययनको क्रममा एनआरआईसीको सेयरमा सोझा लगानीकर्तालाई महँगोमा सेयर भिडाउन खोज्ने प्रयास भइरहेको देखिएको छ । 

नेपाल पुनर्बीमा कम्पनीका सीइओ शंकरकुमार रायमाझीले गत साउन ८ गते नियामक निकाय बीमा समितिबाट वित्तीय प्रतिवेदन पेस गरेपछि ६० दिनभित्र वार्षिक साधारणसभा गर्नु भन्ने निर्देशन आएको बताए। तर कोरोना महामारीका कारण सभा गर्न केही ढिलाइ भइरहेको बताए । 

उसो त सेयर बजारका स्वतन्त्र लेखक र विज्ञहरु समेत एनआरआईसीको हिजोआजको सेयरमूल्य अचाक्ली र अप्राकृतिक ढंगले बढाइएको तर्क गर्छन्। कम्पनीको विषयमा सेयरमूल्यमा प्रभव पर्ने खासै केही सूचना नभएकाले हल्लैहल्लाका भरमा सेयरमूल्य उचालिएको उनीहरुको ठम्याइ छ। 

यता सेयर बजारमा भने १ः१ हकप्रद आउने र एनआरआईसीको सेयरमूल्य १५ सय पुग्ने हल्ला फिँजाइएको छ। यही ग्रान्ड डिजाइनअनुरुप चलखेल गर्ने गिरोहले छोटो समयमा धेरै कमाउने उद्देश्यले यो कम्पनीको मूल्य बढाइराखिएको देखिएको छ । 

दुई महिनाअघि मात्र नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार भइरहेको एनआरआईसीको सेयरमूल्य ५०० रुपैयाँदेखि ६०० रुपैयाँका बीचमा ठूलो भोल्यूममा कारोबार भएको छ, तर गत भदौ ४ गते बिहीबार एनआरआईसीको प्रतिकित्ता ५८३ रुपैयाँमा कारोबार भइरहेकोमा त्यसपछि भने मूल्य लगातार उकालो लागी ९०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ।