काठमाण्डौ । नेपाल उद्योग परिसंघको विधानअनुसार मंगलबार ७ जना उपाध्यक्ष चयन गरिएका छन्।
परिसंघको गभर्निङ काउन्सिलले उपाध्यक्षहरु चयन गरेको हो। जसअनुसार निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह (राज ब्रुअरी), हेमराज ढकाल (चन्द्रागिरी हिल्स) र रोहित गुप्ता (लक्की नेपाल) परिसंघको उपाध्यक्ष चयन भएका छन्।
परिसंघको १८ औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका हुन्। परिसंघको विधानअनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत समूहबाट उनीहरू उपाध्यक्ष भएका हुन्।
परिसंघको विधानमा भएको व्यवस्थाअनुसार राष्ट्रिय परिषदका सदस्यहरूमध्येबाट उपाध्यक्षहरू चयन भएका हुन्। उनीहरुकोसपथ ग्रहण मंगलबार नै सम्पन्न भएको छ।
कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणी संस्थाका रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई शुभकामना दिए। उनले हरेक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप अघि बढाउनुपर्नेमा जोड दिए।
परिसंघका अध्यक्ष अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताए। औद्योगिकरण विना मुलुकको दीगो विकास असम्भव रहेको भन्दै उनले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे।
यसैगरी परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे। उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी–अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए।
परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे। उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए।
कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए। कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल र राष्ट्रिय परिषदका सदस्यहरूको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago