काठमाण्डौ। लाभांश अनुमोदन गर्दै नेपाल ल्यूब आयल लिमिटेडको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

हाल विद्यमान कोभिड महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्ध गर्नुको साथै उच्च लाभांश पारित गरेको छ। साधारणसभा मार्फत सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

साधारणसभा भर्चुअल तथा स्वयं उपस्थितीमा सञ्चालन भएको थियो। सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य सेयरधनीहरुको उपस्थिति रहेको थियो। स्वयं उपस्थितिबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यमबाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरुबीच दूरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सभा सम्पन्न भएको थियो। 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भन्नुभयो, ‘नेपाल ल्यूब आयल चलिरहेको महामारीले अगाडि राखेका चुनौतीहरुको बावजुद उत्कृष्ट वृद्धि हासिल गर्न सक्षम भएको छ। चालु आर्थिक वर्षका लागि हामीले गत वर्षभन्दा बिक्रीवितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौँ।’

यस्तै बजारमा लुब्रिकेन्टसहित ब्याट्री र सोही प्रकिृतिको सामान रिटेलरहरुमार्फत कारोवार हुने वस्तु टायरको समेत कारोवार गर्ने लक्ष्य लिइएकाको चौधरीले बताए। ‘जसअन्तर्गत ब्याट्रीको बिक्रीवितरण सुरु भइसकेको छ’, उनले भने, ‘कम्पनीले आफ्ना उत्पादित र विक्रिवितरण गरिने वस्तुहरुको गुणस्तर र मानव संशाधन विकासका लागि आफ्नो प्रतिबद्धतालाई सदैव मुख्य मार्गदर्शनका रुपमा लिएर अगाडि बढिरहनेछ।’

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीवितरणसमेत गर्दछ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो र यसको ब्रान्डिङ साझेदारीमा म्यानचेस्टर युनाइटेड फुटबल क्लब, म्याकल्यारेन रेसिङ कार र चेन्नई सुपर किङजस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ। त्यस्तै गल्फ लुब्रिकेन्टस् नेपालको समेत मुख्य रुपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्रान्डका रुपमा चिनिन्छ। गल्फ ब्रान्डका उत्पादनहरुको विविधताले सबै अटोमोबाइल र मेसिनरीहरुलाई समेटन सक्ने गरी व्यापक क्षेत्रमा फैलन सफल रहेको छ।