काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएका ६७ देशबाट नेपाल आउँदा अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्ने निर्णय स्थगित भएको छ। 

अध्यागमन विभागले शनिबार एक सूचना जारी गर्दै यसअघि शुक्रबार गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको हो। अर्को सूचना जारी नहुन्जेलसम्म यो निर्णय स्थगित गरिएको विभागले जनाएको छ। यसअघि ट्राभल एड्भाइजरी भने यथावत नै रहेको सूचनामा उल्लेख छ।

विभागले गत शुक्रबार सूचना जारी गर्दै ओमिक्रोन भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउँदा एक हप्ता होटेल क्वारेन्टिनमा बस्नुपर्ने जनाएको थियो। यसरी होटेलमा बस्दा सबै खर्च यात्रुले नै व्यहोर्नुपर्ने उल्लेख गरिएको थियो।

यसैगरी होटेल क्वारेन्टिनमा बसेपछि पीसीआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेगेटिभ आएपछि पनि एक हप्ता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने यसअघिको सूचनामा भनिएको थियो।

गत शुक्रबार अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, युक्रेन, रोमानिया, स्पेन, स्लोभाकिया, स्विडेन, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, माल्दिभ्सबाट आउनेलाई क्वारेन्टिनमा बस्नुपर्ने भन्दै सूचना जारी गरिएको थियो।