काठमाण्डौ । नेपाल टेलिकमले भोलि (माघ ३ गते) देखि लागू हुने गरी ‘विन्टर अफर–२०७८’ उपलब्ध गराउने भएको छ। 

कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो। यस अफरअन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेजसमेत उपलब्ध गराउने भएको छ। पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याकसमेत उपलब्ध हुने भएको छ। 

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ। डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता हो। 

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ। यसअन्तर्गत रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटासमेत चलाउन सकिनेछ। 

यसैगरी नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ। पहिलोपटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन्। यसका साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने बेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइनेछ। 

यीबाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ। अफर प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।  

कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक हुने विश्वास कम्पनीको रहेको छ।