काठमाण्डौ । कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने ‘अन्तरआबद्धता शुल्क’ नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिकाअन्तर्गत अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधानअनुसार नेपाल टेलिकमले आज माघ १८ गतेदेखि लागू गरेको छ। 

नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको यही माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित महशुल दर आजदेखि कार्यान्वयनमा ल्याएको हो। 

नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भएपश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागू हुने महशुल दर परिमार्जन भई शुल्कमा कमी आउनेछ। सोअनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रतिमिनेट १ रुपैयाँ १० पैसामात्र कायम हुनेछ। 

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सी फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रतिमिनेट १ रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम हुनेछ। 

यसका साथै कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रतिसन्देश १ रुपैयाँ १० पैसा कायम हुनेछ।  

उल्लिखित दररेटमा करबापत लागू हुने रकम समावेश गरिएको छैन।