काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। 

यो कम्पनीले पुस २२ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिँदै आईपीओ निष्कासनको अनुमति मागेको हो। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्नेछ। 

कम्पनीले जारीपुँजीको २० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। 

कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकूल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दीर्घकालीन खाद्य सुरक्षामा योगदान उद्देश्यसहित अग्रसर रहेको नेपाल वेयरहाउजिङ कम्पनीमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका प्रख्यात व्यावसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ। 

कम्पनीले प्रदेश नं. १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिकटनका आधुनिक साइलोहरुमार्फत कृषकहरुलाई अन्न भण्डारणको सुविधा प्रदान गर्नेछ। यसका साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सिङ गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।