काठमाण्डौ। नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारणसभा आज चैत ९ गते काठमाण्डौमा सम्पन्न भएको छ।
नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, नेपाल इटाली चेम्बर अफ कमर्सका पदाधिकारी तथा पत्रकारहरुको उपस्थित थियो।
साधारणसभामा संघका कार्यवाहक अध्यक्ष ध्रुवकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। उनले, ‘नेपालको सांस्कृतिक, वस्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा इटालीको योगदानप्रति हामी आभारी छौँ र यो सहयोग हाम्रा दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकका रुपमा रहनेछ भन्ने हाम्रो विश्वास रहेको छ।’
नेपाल र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको करिब साढे ६ दशक हुनै लागेको छ। सन् १९५९ अगस्ट ३१ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यो अवधिमा दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहेको र व्यापार व्यवसाय पनि उल्लेख्य नै रहेको परिदृश्यमा दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई थप बलियो र सशक्त बनाउन नेपाल इटाली चेम्बर अफ कमर्स स्थापना भएको हो।
कार्यक्रममा नेपाल इटाली उद्योग वाणिज्य क्षेत्रमा योगदान पुर्याउनुभएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो। जसमा विशेष सम्मान नेपाल इटाली चेम्बर अफ कमर्सका विशिष्ठ मानार्थ सदस्य राजेशकाजी श्रेष्ठज्यूलाई प्रदान गरिएको थियो।
त्यस्तै नेपाल र इटालीबीच व्यापार क्षेत्रमा उत्कृष्ट आयातकर्ताका रुपमा विनोद सगतानीलाई प्रदान गरियो। इटालीतर्फ नेपाली वस्तु निर्यातका लागि उत्कृष्ठ निर्यातकर्ताका रुपमा राजु श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो।
नेपाल इटली चेम्बर अफ कमर्सका तर्फबाट नेपालमा इटालीका पर्यटक सबैभन्दा बढी भित्र्याउन सफल भई पर्यटन क्षेत्रमा पुर्याएको योगदान लागि पिस इन्टरनेसनल टुर एन्ड ट्राभल्सका प्रवन्ध निर्देशक सर्वोत्तम लाल श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो। यसका साथै, फायर एन्ड आइस पिज्जेरियालाई उत्कृष्ट लगानीकर्ताको रुपमा सम्मान प्रदान गरियो।
इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विकास सहयोग प्रदान गर्दै आएको छ। विशेषगरी सन् १९९० मा प्रजातन्त्र आएपछि इटालियन सरकार र जनताले नेपालमा सहयोगको मात्रा बढाउँदै लगेका छन्।
यस्तै सन् २०१५ को विनाशकारी भूकम्पपछि पीडितलाई उल्लेख्य मात्रामा इटालियन सहयोग प्राप्त भएको छ। नेपाल इटली चेम्बरमार्फत द्विपक्षीय व्यापार अभिवृद्धिसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउने तथा नेपालमा इटलीका पर्यटकको संख्या बढाउन अभिप्राय रहिआएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19