काठमाण्डौ । अर्थतन्त्रमा चुनौतीहरु बढ्दै गइरहेको सन्दर्भमा सरकार र निजी क्षेत्रको साझेदारीमा ‘नेपाल बिजनेस समिट २०२३’ आयोजना हुने भएको छ। 

सरकार र निजी क्षेत्रबीचको दूरी कम गर्दै उद्यमी–ब्यवसायी र बैंक तथा वित्तीय क्षेत्रको मनोबल बढाउन शिखर सम्मेलन आयोजना गरिन लागेको छ। संघीय सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा आयोजना हुने सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता र विशेष सम्बोधन रहनेछ। 

शिखर सम्मेलनबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले उद्योगी, ब्यवसायी र बैंक तथा वित्तीय संस्थाले भोग्दै आएका समस्याहरु समाधानका लागि पहल गर्न र वित्तीय संस्थाबारेको भ्रम निवारणका लागि बिजनेस समिट आयोजना गरेको बताए। पछिल्लो वित्तीय चुनौतीले उद्योगी ब्यवसायी र बैंक वित्तीय संस्थाबिचको दूरी बढ्दै जाने सम्भावना रहेको उल्लेख गर्दै गोल्यानले कृषि, पर्यटन, ऊर्जा, निर्यात क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। 

नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र सोका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको जानकारी गराए। सम्मेलनमा देशभरिका लगभग ४०० जनाको सहभागी हुने अपेक्षा गरिएको छ। 

सिबिफिनका बरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले उद्यमशीलता र व्यावसायिक प्रवर्द्धनका लागि बिजनेस समिट आयोजना गर्न लागिएको बताए। उपाध्यक्ष राजेश उपाध्यायले सरकार र निजी क्षेत्रबीचको यो शिखर सम्मेलनले अर्थतन्त्रको भिजन डकुमेन्ट तयार गर्ने र आगामी दिनमा यसले जारी गर्ने घोषणापत्र सरकारको नीति तथा कार्यक्रममा समेटिने विश्वास व्यक्त गरे। 

सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पाेरेसन (आइएफसी) का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम,, वरिष्ठ उद्यमी तथा प्रतिनिधिसभा सदस्य विनोदकुमार चौधरी,  वरिष्ठ अर्थशास्त्री तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले,  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, एफएनसीसीआईकी पूर्वअध्यक्ष भवानी राणा, सीएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्मा, म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, वर्ल्ड लिंकका अध्यक्ष दिलीप अग्रवाल, डोल्मा अर्गनाइजेसनका प्रबन्ध निर्देशक जोसेफ अल्भान, दराज नेपालका प्रवन्ध सञ्चाल आँचल कुँवरसलगायत विभिन्न देशका राजदूत, अर्थशास्त्री, उद्यमी–व्यवसायी, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवले सम्बोधन गर्नेछन्। 

शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सिर्जना हुने,  लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम–व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवर्द्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कूटनीतिक नियोगविच सम्बन्ध विस्तार भई उच्चस्तरको नेटवर्किङ हुने अपेक्षासमेत राखिएको छ।  

शिखर सम्मेलनमा देशभरका उद्यमी–ब्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि गरी धेरै ठूलो संख्यामा सहभागिता रहने र सम्मेलनको तयारी सम्पन्न भएको समेत पत्रकार सम्मेलनमा सिबिफिनका महानिर्देशक डा. गोपालप्रसाद तिवारीले जानकारी दिए। तिवारीले अर्थतन्त्रमा अहिले देखिएको चुनौती लाई सामान गर्न विशेष सुझावसहितको अबधारणापत्र तयार गरिने बताए। 

पत्रकार सम्मेलनमा सिबिफिनका कार्यसमिति सदस्य महेन्द्रकुमार गोयल र एनबीआईका निर्देशक धर्मराज रेग्मीलगायतको समेत उपस्थिति थियो। 

शिखर सम्मेलनमा टाइटल स्पोन्सर वर््ल्ड लिंक कम्युनिकेसनको रहेको छ भने आईएफसी वर्ल्ड बैंक, डब्ल्यूडब्ल्यूएफ, नबिल बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, दराज नेपाल, नेपाल एयरलाइन्स, राष्ट्रिय बाणिज्य बैंक, नमस्ते पे, कामना सेवा विकास बैंक, महालक्ष्मी बिकास बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलगायतले साझेदारी गरेका छन्।