काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आइतबार साँझसम्म २ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

यो कम्पनीले गत जेठ २६ गतेबाट आवेदन खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको छ। 

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

सीडीएससीका अनुसार आज साँझसम्म यो आईपीओमा ६ लाख ९९ हजार २१० आवेदकबाट कुल ७६ लाख ९३ हजार १०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.१२ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये १ जनाले थप १ एक सेयर पाउनेछन्।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द जेठ ३० गते बैंकिङ समयपछि हुनेछ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।