काठमाण्डौ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र एनएमबि बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम एनएमबि बैंकको सीधै बैंक खातामा तथा एनएमबि बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न सकिन्छ। रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका छन्। 

नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइमै रेमिट्यान्स भित्र्याउँदै आएको छ। जसबाट नेपालमा रेमिट्यान्स भित्र्याई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ। 

यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैँकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए। 

सन् २००८ मा नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्ग वित्तीय संस्थाका रुपमा इजाजतपत्र प्राप्त गरी २० वर्षभन्दा बढी समयदेखि नेपाली वित्तीय बजारमा सञ्चालनमा रहेको एनएमबि बैंक नेपालकै अग्रणी वाणिज्य बैंकमध्ये एक हो। २०० भन्दा बढी शाखा कार्यालय र थुप्रै एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवाहरु जस्तै– क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ आदि सेवासमेत प्रदान गर्दै आएको एनएमबि बैंकले नेपालभर आफ्नो सेवा विस्तार गरेको छ। 

एनएमबि बैंकलाई विश्व प्रतिष्ठित दि फाइनान्सियल टाइम्स लन्डनद्वारा प्रकाशन गरिने दि बैंकर म्यागेजिनले ‘बैंक अफ दि इयर २०१७’, ‘बैंक अफ दि इयर २०१८’, ‘बैंक अफ दि इयर २०२०’ र ‘बैंक अफ दि इयर २०२१’ अवार्डको उपाधिबाट सम्मानित गरिसकेको छ भने सन् २०२१ मै नेपाली बैंकिङ इतिहासमै पहिलोपटक यो बैंकलाई बैंक अफ द इयर २०२१ एसिया’ को उपाधिबाट समेत सम्मनित गरिएको थियो।