काठमणडौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस–२०२३’ सम्पन्न भएको छ। 

चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्षः  पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो। कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता थियो। 

पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए। 

कार्यक्रममा कम्पनीका वरिष्ठ सञ्चालक अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सम्पूर्ण प्रगतिका सहयात्रीलाई हृदयदेखि नै धन्यवाद दिए। ‘नेपाल लाइफ आफैँमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड हो र यससँग जोडिन पाउनु हामी सबैका लागि हर्षको विषय हो’, उनले भने। 

पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अघि बढेको देख्दा खुसी लागेको अग्रवालले बताए। ‘जसरी सार्कले समुद्रमा अधिपत्व कायम गरेको हुन्छ, त्यसैगरी नेपाल लाइफले जीवन बीमा क्षेत्रमा अधिपत्व कायम गर्नेमा म विश्वस्त छु’, उनले भने, ‘ग्राहकको सहजताका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधिकरण गर्ने कार्यहरु शुभारम्भ भइसकेको छ।’ 

कार्यक्रममा सञ्चालक ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पुर्याउन गरिएको योगदानका निम्ति धन्यवाद ज्ञापन दिए। उनले आव २०७९–८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाइ तथा आगामी दिनमा सफलताका लागि शुभकामना व्यक्त गरे। 

ढकालले आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधिनमा रही व्यवसाय गर्न सबैलाई आग्रह गरे। यसका साथै एएमएल सीएफटीको महत्व र अपराहर्यताका बारेमा उनले प्रकाश पारे। विगतलाई स्मरण गर्दै उनले नेपाल लाइफ यहाँसम्म आइपुग्दा धेरैनै उतारचढावको सामना गर्नुपरेको बताए। आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ नवीनतम प्रविधिको प्रयोग गरी कार्यसम्पादन गर्न उनले आग्रह गरे। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित अभिकर्तालाई बधाइ तथा शुभकामना प्रदान गरे। 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्तालाई गत आर्थिक वर्षको कार्यसम्पादनका लागि धन्यवाद र चालु आर्थिक वर्षको व्यापार लक्ष्य पूरा गर्न सुरुबाटै दत्तचित्त भई कार्य गर्न आह्वान गरे। 

गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्षमा सेल्स रणनीतिका बारेमा सम्मलेनमा पराजुलीले जानकारी गराए। उनले यो कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको बताए। अभिकर्ताको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको पनि उनले बताए। 

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो। 

त्यस्तै एजेन्सी मेनेजरतर्फबाट  क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र  स्नेहा भट्ट तथा व्यक्तिगत कोडतर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।