काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ७.८६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

चौथो त्रैमासमा कम्पनीले सेवा व्यापारबाट ३६ अर्ब ८० करोड रुपैयाँ र अन्य स्रोतबाट २९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी क्रमशः ३७ अर्ब ९१ करोड रुपैयाँ र ५४ करोड ७४ लाख रुपैयाँ थियो। यो हिसाबले कम्पनीको दुवै आम्दानी घटेको छ। 

अघिल्लो वर्ष चौथो त्रैमासमा ईबीआईटीडीए २० अर्ब ८२ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर २० अर्ब ११ करोड रुपैयाँ खुम्चिएको छ। 

चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार घटेर १.८६ प्रतिशतले घटेर ७५ अर्ब ८२ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा ७७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४३.३६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४७.०७ रुपैयाँ थियो। पीई रेसियो २०.९२ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१.२७ रुपैयाँ रहेको छ। ​