काठमाण्डौ । नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ। 

समझदारीपत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरेका छन्। दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्य हुनेछ। 

परिसंघ सचिवालयमा आज आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशीलता तथा व्यावसायिक प्रवर्द्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए। उनले ‘ब्रेन डे«न’ रोक्न, उद्यमीहरुका लागि उचित वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्दै आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोंच भएका युवाहरुलाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गरे।

अग्रवालले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धनसम्बन्धी गतिविधिबारे जानकारी गराउँदै दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नविनतम् काम हुने विश्वास व्यक्त गरे। 

आइडिया स्टुडियोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा  लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए। देशमा केही गरौँ भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघ सँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने विश्वास उनले व्यक्त गरे। 

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामूहिक रुपमा नयाँ काम हुने विश्वास व्यक्त गरे। कार्यक्रममा परिसंघका महानिर्देशक दिपकराज जोशी, आइडिया स्टुडियोकी सदीक्षा श्रेष्ठलगायत सहभागी थिए।