काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा महिलाहरुको महान चाड तीजलाई लक्षित गरी ‘टे«ड शो तीज स्पेसल–२०२३’ को आयोजना गरिएको छ। 

नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका विविध सामग्रीको प्रदर्शन तथा बिक्री प्रव्र्द्धन महिलाहरुमा उद्यमीशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए। अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरुको सर्वागिंण विकासका लागि स्थापना गरिएको र यस मेलाले महिलाहरुको उद्यमशीलताको विकास तथा सामाजिक, साँस्कृतिक तथा आर्थिक क्रियाकलापहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे। 

महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने मल्लले बताए। उनले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाई धन्यवाद व्यक्त गरे। 

कार्यक्रममा गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारीलगायत चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए। 

नेपाल महिला चेम्वरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको र आज सम्पन्न हुने उक्त एक दिने मेलामा सांगीतिक कार्यक्रम, फेसन शो नृत्यलगायतका कार्यक्रम समावेश भएको जानकारी दिइन्।