 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आईपीओ ल्याउने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले असोज १० गते नेपाल वेयरहाउजिङलाई १३ करोड ६५ लाख रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति दिएको हो। योसँग अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६५ हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ।
कम्पनीले पहिलो चरणमा कुल सेयर संख्याको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीका लागि जारी गर्नेछ। त्यसपछि बाँकी आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडको रहेको छ।
कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिकटन क्षमताको साइलोसहितको वेयरहाउस निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भइरहेको छ र सोसमेत पुस महिनासम्ममा सञ्चालनमा आउनेछ।
यो कम्पनी संस्थापन गर्नुका प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकतावमोजिमको सुरक्षित तथा वैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने बाध्यता कृषकसँग रहिरहेको छ।
अर्कोतर्फ त्यही खाद्यान्न केही महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ। यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ कम्पनीले देशका तीनवटा महत्वपूर्ण स्थान सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। कृषकबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पद्धतिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ।
यसका साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पुँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।
कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत रु. १६२.७५ करोड रहेको छ। सो लगानीमध्ये रु. ९४ करोड ऋण र बाँकी स्वपुँजीबाट परिचालन गरिने कम्पनीले जनाएको छ।
ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, हिमालयन बैंक, साबिक बैंक अफ काठमाण्डू, कृषि विकास बैंकको सहवित्तीयकरणमा गरिएको कम्पनीले जनाएको छ। कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबियोटक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्चर्स, टीएनआई, निफ्रा, मुक्तिनाथ कृषि, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टलगायतका लगानीकर्ताबाट लगानी जुटाइको छ।
कम्पनीको हालको चुक्तापुँजी रु. ५५ करोड रहेकोमा साधारण निष्कासनबाट रु. १३ करोड ६५ लाख जुटाइने कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19