काठमाण्डौ । नेपाल टेलिकमले बिहीबारदेखि लागू हुनेगरी अटम अफर उपलब्ध गराउने भएको छ ।

यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको बताएको  छ। 

कम्पनीले उक्त अफर अन्तर्गत अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने छ। 

त्यसैगरी, सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने पनि कम्पनीले बताएको  छ।

त्यस्तै, अल नेट भ्वाइस प्याक अन्तर्गत १८ रुपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ । 

यसैगरी अल टाइम डाटा प्याक अन्तर्गत ९५ रुपैयाँमा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ । यसका साथै आकर्षक सुविधासहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ । 

त्यस्तै कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ ।

यसअनुसार ६३६ रुपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ । 

कम्पनीले सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउदा १ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुने बताएको छ ।