काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज कात्तिक १२ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत कात्तिक ३ गतेबाट संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ। 

इच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।