काठमाण्डौ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। 

नेप्सको गत मंसिर २७ मा सम्पन्न आठौँ वार्षिक साधारणसभाबाट सेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरु चयन भएका थिए। यसका साथै नवनियुक्त सञ्चालकहरुमध्येबाट नेपाल सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका हुन्।

नवनियुक्त अध्यक्ष नेपालले भुक्तानी तथा फछ्यौट विनियमावलीबमोजिम बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्। 

बैंक तथा वित्तीय संस्थाद्वारा स्थापित एवं सञ्चालित नेप्सले १५ वटा बैंक तथा वित्तीय संस्थालाई सेवा प्रदान गर्दै आइरहेको छ। नेप्स एक PCIDSS र PCIPIN प्रमाणित कम्पनी हो। 

बैंक तथा वित्तीय संस्थाहरुका लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मका रुपमा रहेको यस कम्पनीले झन्डै २ हजार एटीएम तथा देशभर २० हजार पीओएसमार्फत ३५ लाख ग्राहकलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।