काठमाण्डौ । सेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली संचालनको समयको बिषयमा शंका–उपशंका भइरहेको बेला नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले साउन १ गतेदेखि सुरु गर्ने दृढता व्यक्त गरेका छन्।
बिजशालासँग टेलिफोनमा कुरा गर्दै साउदले सबै पूर्व तयारी भनेअनुसार नै अगाडि बढिरहेको भन्दै लगानीकर्ताहरुलाई हल्ला र भ्रमको पछि नलाग्न आग्रह गरे ।
‘०७२ सालको जस्तो भूइँचालो नै गयो वा ठूलै पहिरो आयो वा यस्तै तलमाथि भयो भने मात्र हो, नभए हाम्रो योजनामा हामी दृढ छौ, तलमाथि हुँदैन, साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली सुरु हुन्छ ।’ नेप्से प्रमुख साउदले भने–‘हामी साउन १ गतेदेखि नयाँसँगै पुरानो सिस्टमलाई पनि समानान्तर ढंगले अगाडि बढाउँछौ, त्यसकारण लगानीकर्ता ढुक्क भए हुन्छ, नयाँ सिस्टममा कुनै समस्या भए पनि हाम्रो पुरानो सिस्टम निरन्तर हुन्छ । नेप्सेको प्ल्याटफर्मका कारण बजारमा कुनै असर गर्दैन ।’
सीइओ साउदकाअनुसार अहिले भेण्डर कम्पनी वाइको र नेप्सेको प्राविधिक टोलीले नयाँ सिस्टमको आन्तरिक परीक्षण गरिरहेको छ । नेप्सेका मात्र करिब १० जना कर्मचारी रातदिन नयाँ प्रणालीको परीक्षणमा खटिएका छन् । ‘जेठ महिनाको २७ गतेसम्म नेप्से र वाइकोबीचको परीक्षण सकिन्छ ।’ साउदले भने–‘त्यसपछि हामी केही ब्रोकर साथीहरुलाई टेस्टिङका लागि प्रणालीको एक्सेस दिनछौ ।’
उनका अनुसार ब्रोकरले आफ्ना लगानीकर्तालाई नयाँ अनलाइन प्रणालीको टेस्टिङ असारको तेश्रो साताभित्र गराइसक्नुपर्नेछ । असारभरिमा ट¥ायलको रुपमा नयाँ सिस्टममा काम गरेपछि साउनदेखि त्यसलाई नै कार्यान्वयनमा ल्याइनेछ ।
‘साउन १ गतेदेखि नयाँ सिस्टमलाई हामी कानूनी मान्यता दिंदै कार्यान्वयनमा ल्याउनेछौ ।’ उनले भने–‘ सुरुवातमा पुरानो सिस्टमलाई पनि नयाँसँगै समानान्तर ढंगले लगिनेछ ।’
नेप्सेले पूर्ण अनलाईन कारोबार प्रणालीको युजर एसेप्टेन्स टेष्ट(युएटी)का लागि कम्पनी छनौट गर्न जारी गरेको सूचनाले छनौट हुने कम्पनीले काम सक्नै ९० दिनको समय पाउने भएकाले अनलाईन संचालनमा आउन ढिलाई हुने भएको भ्रमलाई समेत साउदले चिर्ने कोशिश गरेका छन् ।
‘असार तेश्रो सातादेखि यूएटी सुरु हुन्छ ।’ उनले भने–‘लगानीकर्ता, ब्रोकर, भेञ्चर कम्पनी, नेप्से, सिडिएससी सबैसँग टेस्ट गरिसकेपछिको म्याटेरियल यूएटी गर्ने मानिसले धेरै समय त लगाउदैन नि ! त्यसैले यूएटीको अवधि ९० दिनको हो भनेरै शंका उपशंका नगरौं, त्यो अधिकतम मिति हो । अनलाइन सिस्टम साउन १ देखि नै सुरु हुन्छ ।’
उनका अनुसार यूएटी नयाँ सिस्टमका लागि रहेको र त्यसको समय ९० दिन रहेकोले त्यो अवधिमा नयाँ सिस्टममा बजार पूर्ण निर्भर हुने गरी सम्बद्ध कम्पनीले काम गर्ने बताए । ‘तर, साउन १ गतेदेखि नयाँसँगै पुरानो सिस्टम पनि सँग सँगै हुन्छ ।’ उनले भने–‘नयाँ सिस्टममा यूएटी गर्ने क्रममा कुनै समस्या भए पुरानो सिस्टमले त्यसलाई कभर गर्नेछ ।’ छनौट हुने कम्पनीले ३ महिनाअघि नै नयाँ सिस्टमलाई सर्टिफाइड गरिदिने विश्वास समेत उनले व्यक्त गरे ।
साउदले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली आएपछि चमात्कार नै हुन्छ भन्ने भ्रम समेत पाल्न नहुने जिकिर गरेका छन् । ‘बजार अनलाइन आएपछि मात्र ठूलो हुने होइन, अनलाइन नै सबैथोक हो भनेर सोच्नु गलत हो ।’ उनले बिजशालासँग भने–‘यो त एउटा माध्यम मात्र हो, अनलाइन नै भए पनि बजार मूल्य निर्धारण हुने माग र आपूर्तिले नै हो ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19