-भक्तराज रसाइली
काठमाण्डौ । एभरेष्ट इन्सुरेन्स कम्पनीको मूल्य समायोजनप्रति असन्तुष्टि जनाउँदै सेयर बजारसँग सम्बन्धित लगानीकर्ता संघका ४ वटा संगठनको संयुक्त टोलीले नेप्सेको ढोका ढकढक्याएको छ ।

आज बिहान १० बजे नै पुगेका लगानीकर्ता संघका नेता तथा लगानीकर्ताहरुले तत्काल कारोबार रोक्न आग्रह गर्दै नेप्से प्रमुख चन्द्रसिंह साउदलाई आग्रह गरेपश्चात आज एभरेष्ट इन्सुरेन्सको कारोबार रोक्का गरियो ।

आफूलाई भेट्न आएका लगानीकर्ताहरुलाई नेप्सेको सीइओ साउदले इन्सुरेन्सको मूल्य समायोजनका विषयमा नेप्सेले तत्काल बैठक बसी निर्णय गर्न र केहीबेर पर्खिन आग्रह गरेका थिए । केहीबेर बसेको बैठकले इन्सुरेन्सको मूल्य समायोजन एक अनौठो घटना भएको सीइओ साउदको भनाई थियो । यस विषयमा नियामक नेपाल धितोपत्र बोर्डसँग छलफल गर्ने र आजै ठोस निर्णय निकाली कारोबार फुकुवा गरिने साउदले जानकारी दिए ।

नेप्सका उच्च अधिकारीहरु, सिइओ साउद, लगानीकर्ता संघका पदाधिकारी लगायतका व्यक्तिहरुसँगै केही समयपश्चात बसेको बैठकमा एभरेष्ट इन्सुरेन्सका सीइओ कमल गौतम पनि छलफलमा बसेको बेला नेप्सेका प्रवीण पन्धाक र निराञ्जन फुयाँल सहभागी थिए । छलफलका क्रममा नेप्सेका उच्च अधिकारीहरुविरुद्ध इन्स्योरेन्सका सीइओ गौतमले पनि जाइलागेपछि प्रवीण पन्धाक र निरान्जन फुँयालले इन्सुरेन्सका तर्फबाट प्रतिनिधि गरिदिन अरु समयमा आएर मज्जाले कुरा गर्न सकिने, तर संघका नेताहरुसँग आएर लिष्टिङ कम्पनीको मर्म र मर्यादा विरुद्ध भएको भनी चर्काचर्की नै परेको थियो । 

फूयाँलले त आफ्नो स्वार्थका लागि हो भने इन्साइडर ट्रेडिङको आरोप लगाइरहँदा इन्स्योरेन्सका सीइओ गौतमले आफू लगानीकर्ता संघका नेताहरुले नेप्से आइदिन हारगुहार गरेपछि आएको भन्दै आफ्नो बचाउ गरेका थिए । 

‘लगानीकर्ता संघका नेताहरुले आफ्नो आसपासका साथीभाई र आफन्तहरुको हित तथा स्वार्थ मात्र हेरेको समग्र बजारको शुद्धीकरण र आम लगानीकर्ताहरुको हितमा बुलन्द आवाज बनेर गर्व गर्न लायक संघ बन्न सकोस्’ भनी रोहन शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

लगानीकर्ताका संघहरुको आज संयुक्त टोलीले नेप्से प्रमुख चन्द्रसिंह साउदलाई भेटेर एभरेष्ट इन्स्योरेन्स कम्पनीको कारोबार रोक्न माग गरेका छन् । 

लगानीकर्ताका संघहरुले संस्थापक हकप्रद शेयर मूल्य समायोजन नेप्सेलाई आइतबार ११ बजेदेखि नै कारोबार रोक्न तथा समायोजित मूल्यमा यसअघि भएका ३६० कित्ता कारोबारलाई समेत रोक्न आग्रह गरेका छन् । यसअघि एभरेष्ट इन्स्योरेन्सले पनि साधारण शेयरमा संस्थापक हकप्रदलाई समायोजन नगर्न आग्रह गर्दै नेप्सेलाई पत्राचार गरेको थियो ।

१०५ प्रतिशत संस्थापक हकप्रदको बुक क्लोजपछि नेप्सेले एभरेष्टको साधारण शेयरमा संस्थापक शेयरलाई समायोजन गरेको थियो । सोलगत्तै लगानीकर्ताहरुले मूल्य समायोजन व्यवहारिक नभएको भन्दै नेप्सेमा पुगेर ध्यानाकर्षण गराउँदै आएका छन् ।