काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीलाई पदबाट हट्न अर्थमन्त्रालयले दवाब बढाएको छ । 

सरकार पुनर्गठनसँगै नयाँ अर्थमन्त्रीको रुपमा डा. प्रकाशशरण महत आएपछि अर्थमन्त्रालयका अधिकारीहरुलाई परिचालन गरी सीइओ कार्कीलाई पदबाट राजीनामा दिन बाध्य पार्ने गरी दवाबहरु सिर्जना गरिएको छ ।

अर्थमन्त्रालयस्थित उच्च स्रोतकाअनुसार आफूलाई नयाँ अर्थमन्त्रीले नरुचाउने कुरा बुझेका सीइओ कार्की पद जोगाउन दौडधूपमा लागेका छन् । 

सीइओ कार्कीको अर्थसचिव तोयम रायासँग पुरानो चिनजान र सम्बन्ध छ । उनले सचिव रायामार्फत आफ्नो जागिर थमौतिको प्रयास अगाडि बढाए पनि अर्थमन्त्री र उनका प्रतिनिधिहरुले भने जसरी पनि पदमुक्त गराई नेप्सेमा आफ्नो मान्छेलाई नियुक्त गर्ने खेल सुरु गरेका स्रोतहरुको दाबी छ । 

आफूलाई सरकार पुनर्गठनलगत्तै टार्गेटमा पार्ने कुरा बुझेका सीइओ कार्कीले यो बीचमा अर्थसचिव रायासँग भेटघाट गरेर पद थमौतिका लागि सहयोगको याचना गरिसकेका छन् । अर्थसचिव राया पुरानो साथी समेत भएको हिसाबले कार्कीको पक्षमा देखिए पनि नेप्सेलाई हेर्ने अर्थमन्त्रालयअन्तरगतको वित्तीय समन्वय महाशाखाका अधिकारी भने सकारात्मक छैनन् । 

पछिल्लो समय खास गरी वित्तीय समन्वय महाशाखाका अधिकारीहरुले सीइओ कार्कीलाई काम गर्न नसकेको, सूचीकृत कम्पनीहरुसँग कतिपय सम्वेदनशील सूचना मागेर चलखेल गर्न खोजेको लगायतका आरोप लगाउँदै पद छाड्न दवाब दिइरहेका छन् । ‘महाशाखाका अधिकारीहरु सीइओ कार्की आफैंले राजीनमा गरुन् भन्ने चाहना राखेका छन् ।’ अर्थस्थित स्रोतले भन्यो–‘नयाँ अर्थमन्त्री र उनको टिमसँग कार्कीको राम्रो सम्बन्ध छैन । पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग समेत उनको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ ।’

जनार्दन शर्माको विशेष जोडबलमा कार्कीलाई नेप्सेको सीइओ बनाइएको थियो । पूर्व अर्थमन्त्री शर्माले उनलाई केही कामहरुको जिम्मा समेत दिएका थिए । तर, ती कामहरु पूरा नगरेपछि शर्मा उनीदेखि रिसाएका छन् । 

ब्रोकरहरुलाई लाइसेन्स दिनका लागि परीक्षा लिने, छनौट गर्ने र धितोपत्र बोर्डमा सिफारिस गर्ने लगायतका अधिकार समेत कार्कीको बेवास्ताका कारण बोर्डले लिएपछि अवस्था केही असहज बनेको नेप्सेभित्रै पनि विश्लेषण हुन थालेको छ । 

‘सीइओ कार्कीले नेप्सेको अधिकार खोसिँदा समेत दमदार भूमिका खेलेनन् ।’ स्रोतले भन्यो–‘माओवादीसँग सम्बन्ध बिग्रिएको छ भने अहिलेका अर्थमन्त्री र उनको टिम कार्कीको विरुद्धमा देखिएको छ । यसकारण उनले राजीनामा गर्नुपर्ने अवस्था बन्यो भने अचम्म नमान्दा हुन्छ ।’

अर्को एक स्रोतको सूचनालाई पत्याउने हो भने पछिल्लो समय धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल नै नेप्सेबाट सीइओ कार्कीलाई हटाउने भित्री अभियानमा छन् ।