काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पछिल्लो समय संस्थाको अधिकारिक दुवै वेबसाइट ढिलो चल्नुको पछाडिको कारण अनधिकृत रुपमा ‘डेटा एक्सट्र्याक्ट’ गर्ने निरन्तर प्रयास  रहेको खुलासा गरेको छ।

नेप्सेले मंगलबार सूचना जारी गर्दै संस्थाको आधिकारिक वेबसाइट nepalstock.com.np तथा nepalstock.com मा कारोबारसम्बन्धी विवरण ढिला देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या उत्पन्न हुनुको कारण अनधिकृत रुपमा ‘डेटा एक्सट्र्याक्ट’ गर्ने निरन्तर प्रयास नै प्रमुख रहेको दाबी गरेको हो। 

यस विषयमा अध्ययन विश्लेषण गर्दा दुवै वेबसाइटबाट विभिन्न कोड प्रयोग गरी अनाधिकृत रुपमा ठूलो परिमाणमा विवरण तान्ने (डेटा एक्सट्र्याक्ट) गर्ने प्रयोग निरन्तर रुपमा भइरहेको पाइएको नेप्सेले जनाएको छ। 

यो हर्कतले गर्दा नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृत्रिम रुपमा अत्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुविधा पुग्न गएकोले यसरी अनधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा अबद्ध गर्ने प्रयासलाई रोकथाम गर्न तत्कालका लागि नेप्सेले प्राविधिक उपाय अपनाइरहेको जनाएको छ। आगामी दिनमा पनि त्यस्ता अवैध प्रयास जारी राखेमा नेप्से कानुनी कारबाहीको प्रक्रियामा जान बाध्य हुने चेतावनी पनि दिइएको छ। 

कसले तान्यो बल्कमा डेटा ?
नेप्सेस्थित एक स्रोतका अनुसार नेपालभित्रैबाट नेप्सेको डेटा ठूलो परिमाणमा(बल्कमा) तान्ने काम केही दिनदेखि भइरहेको पाइएको छ।

 

प्रारम्भिक अनुसन्धानको क्रममा यसरी बल्कमा डेटा तान्ने काममा केही मिडियाहाउसहरु, फाइनान्स कम्पनीहरु, पोर्टफोलियो म्यानेजर्सहरुको संलग्नता देखिएको हो । क्रल गर्ने विभिन्न डिभाइसहरुको प्रयोग गरेर नेप्सेले सार्वजनिक गर्ने डेटा अनधिकृत रुपमा तानेको पाइएको स्रोत बताउँछ । 

तानिएका डेटा नेप्सेले सार्वजनिक गर्ने गरेकै डेटा हुन् । तर, सबैले हेर्न पाउने ती डेटा बल्कमा तान्नु अनधिकृत हुने नेप्सेको भनाई छ ।