काठमाण्डौ । ‘थोत्रो रेल’को उपमा पाएको नेपाल स्टक एक्सचेञ्जको पुरानो वेबसाइटको जस्तै रोग अनलाइन सिस्टममा पनि देखिएको छ । १९ करोड रुपैयाँ खर्च गरेर ल्याइएको अनलाइन सिस्टम आइतबार बजार खुलेदेखि नै चलेको छैन । सामाजिक सञ्जालहरुमा अनलाइन सिस्टमको नाममा १९ करोड स्वाहा भएको र यसको नाममा भ्रष्टाचार गरी लगानीकर्तालाई बेवकुफ बनाउने खेल भएको तीतो टिप्पणीहरु समेत आउन थालेका छन् । 

लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत नेप्सेको अनलाइन कारोबार प्रणालीको बिषयमा टिकाटिप्पणी गर्दै तीखा व्यङ्ग्य कसिरहेका छन् ।  

नेप्सेले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको कात्तिक २० गतेदेखि सुरुवात गरेको थियो । यूजर एसेप्टेन्स टेस्ट(यूएटी)बाट समेत विश्वस्तरको गुणस्तरीय सिस्टम भनी प्रमाणित भएको नयाँ सिस्टमले समेत पुरानो झै थोत्रो रेलको नियत दोहोर्याइरहेको देखेर लगानीकर्ता समेत चकित छन् । भरपर्दो र पूर्ण सुरक्षित भनिएको नयाँ सिस्टममा समेत पुरानै नियति दोहोरिएको भन्दै लगानीकर्ता आक्रोशित देखिएका छन् । 

‘निकै ठूलो रकम खर्चेर ल्याइएको भनिएको अनलाइन सिस्टमले समेत काम गरेको छैन, वेबसाइट खुलेको छैन ।’ एक लगानीकर्ताले भने–‘हामीले बजारलाई अध्ययन गर्न पाएनौ, नेप्सेले अनलाइनको नाममा हामीलाई बेवकुफ  बनाउने खोजेको हो कि क्या हो ?’

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले रिप्लेसको काम भइरहेकोले केही समय अनलाइन सिस्टममा समस्या आएको भनी आफूलाई नेप्सेका आइटी हेड निराजनसिंह नायकले भनेको दाबी गरे । ‘एकैछिन पर्खिनु, साइट खुलिहाल्छ ।’–उनले बिजशालासँग भने । 

आइटी हेड नायकसँग यो बिषयमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।