काठमाण्डौ । सरकारले धोका दिएको दाबी गर्दै सेयर लगानीकर्ता दवाब समूहका २ सदस्यले सोमबार(आज)देखि आमरण अनसन सुरु गरेका छन् । 

दवाब समूहका संयोजक हरि ढकाल र समूहबाट अर्थमन्त्रालयमा वार्ता गर्न गएका तिलक कोइराला सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जको मूल गेट अगाडि आमरण अनसनमा बसेका हुन् । 

यसअघि लगानीकर्ताहरुले दवाब समूहकै ब्यानरमा एकहप्ता रिले अनसन गरेका थिए । सो क्रममा अर्थमन्त्रालयले वार्तामा बोलाएपछि उनीहरु वार्तामा बसेका थिए। 

अर्थमन्त्रालय र नेपाल राष्टबैंकका अधिकारीहरुसँग २ चरणसम्म वार्तामा बसेका उनीहरुलाई शनिवार राष्टबैंक वार्तामा बोलाएर गेटबाटै फर्काइएको थियो । 

वार्तामा गएका एकघण्टामै आफ्नो मुख्य माग छाडेको यो समूह केन्द्रीय बैंकमा प्रवेश नदिइएपछि सरकारसँग रुष्ट बनेको थियो । यो समूहले सोही दिन(शनिवार) साँझ विज्ञप्ति प्रकाशित गरी आफूहरुमाथि धोका भएको दाबी गरेको थियो । 

आफूहरुलाई बाइपास गरेर अर्थमन्त्रीबाट बनेको उच्चस्तरीय अध्ययन समितिले लगानीकर्ताका अन्य संगठनको सुझावलाई लिएर अगाडि बढेको देखेपछि उनीहरु आमरण अनसनमा बसेका हुन् । 

दवाब समूहले राख्दै आएको अर्थमन्त्रीको राजीनामा बाहेकका अन्य अधिकांश माग लगानीकर्ताका अन्य संघसंगठनले पनि राख्दै आएका छन् । अन्य संगठनले अध्ययन समितिमा आफ्ना माग पेश गरिसकेका छन् र सो समितिको प्रतिवेदन संभव भएसम्म आजै अर्थमन्त्रीलाई बुझाइने बताइएको छ । 

कडा पूर्व शर्त
दवाब समूहले केही दिनअघि एक विज्ञप्तिमार्फत आफ्ना माग पूरा नभए आमरण अनसन थाल्ने चेतावनी दिएको थियो । 

उसले सो क्रममा आमरण अनसन बसिसकेपछि वार्ताको पूर्व शर्तको रुपमा धितोपत्र बोर्डका अध्यक्ष र प्रवक्ता(कार्यकारी निर्देशक), नेप्सेका अध्यक्ष र सीइओ, बिमा समितिका अध्यक्ष र नेपाल राष्ट्रबैंकका गभर्नरको बर्खास्तीको अडान अगाडि सारेको छ । पहिलोपटकको वार्तामै मुख्य माग छाडेको दवाब समूहबाट गठित वार्ता टोलीले पूर्वशर्त भनी राखेका मागमा कुन हदसम्म अडान लिनसक्छ भन्ने  बिषय भविष्यले नै देखाउनेछ ।