-भक्तराज रसाइली
काठमाडौ । नयाँ रंग दलिएको थोत्रो रेलको संज्ञा पाएको नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणालीको दिनहुँजसोको लथालिङ्ग र बेवास्तापूर्ण हर्कतले सीमा नाघ्न थालेको छ ।
हिजो(सोमबार) पारित नै नभएको वोमी माइक्रोफाइनान्सको हकप्रद सेयरको मूल्य समायोजन गरेको नेप्सेले मंगलबार पनि अर्को त्रुटि गरेको छ।
आज(मंगलबार) कारोबार खुलेको सुरुवातमा बुटवल पावर लिमिटेड कम्पनीको कारोबार ९.५९ प्रतिशतले बढेर २० कित्ता कारोबार भएको छ ।
कारोबार रेञ्ज बाहिर फुस्केर कारोबार भएको नेप्सेको यो बारम्बार दोहोरिरहने नियमित घटना हो । यसले नेप्सेको विश्वसनीयता र कामकारबाहीमा समेत संशय उत्पन्न गराउँदै आएको छ ।
धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ मा मूल्य परिवर्तन सीमाको व्यवस्था अनुसार प्रारम्भिक कारोबार समय सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही कारोबार गर्नुपर्ने हुन्छ ।
एक लगानीकर्ता दीपक दाहालले त 'नेप्सेलाई कारोबार रेञ्ज मिलाउन क्याल्कुलेटर उपहार दिनुपर्ने' भएको भन्दै कटाक्ष हानेका छन् ।
'यदि कारोबार रेञ्ज बढाएको नेप्सेले हो भने सर्वसाधारणलाई सुसूचित गर्ने दायित्व नेप्सेको होइन र ?' दाहालले प्रश्न गरेका छन् ।
हिजोमात्रै पनि वोमी माईक्रोफाईनान्सको बूक क्लोज मितिको सूचना निकाल्न नेप्सेका कर्मचारीले अन्धाधुन्ध तरिकाले हकप्रद मूल्य समायोजन गरेको थियो र हिजै सो कम्पनीको कारोबार आफू मनलाग्दी रोक्का गरेर नेप्सेले मूल्य संवेदनशीलताको खिल्ली उडाएको थियो ।
'हिजो वोमीको नेप्सेले कारोबार नै रद्ध गरेर आज पुनः पुरानै मूल्यमा रेन्ज खोल्नु उसको कुन नैतिकताले दिन्छ ?'-लगानीकर्ता उषा कटवालले टिप्पणी गरिन् ।
'अरुले गल्ती गरे डण्डा चलाउन हतारो गर्ने नेप्सेलाई कसले डण्डा चलाउने ?' उनले थपिन ।
यसैबीच, नेप्सेले लिनुपर्ने न्यूनतम स्टक कमिसन नै २५ रुपैयाँ हुनुपर्नेमा नेप्सेको अनलाइन प्रणाली जडान भएपछि कमिसन रकम कसैको ५ रुपैयाँ त कसैको ९ रुपैयाँ आएर ब्रोकरहरुलाई कमिसनकै कारण समेत दिनहुँजसो टाउको दुखाईको विषय बनिरहेको छ।
नेप्सेले दिनहुँजसो लगानीकर्ताहरुको सम्पत्तिमा चरम लापरबाही र हेल्चेक्य्राई गरेर सेयर बजारप्रति अविश्वास सिर्जना गरिरहँदा समेत नियामक धितोपत्र बोर्डका अधिकारी चूपचाप बसेका छन् ।
नेप्सेले पूर्ण स्वचालित अनलाईनको हवला दिदै दिनहुँजसो सिस्टम बिगार्ने र विभिन्न कम्पनीका मूल्यमा आफूखुसी डाटा हाल्ने प्रबृत्तिका कारण सेयर बजारले विश्वास गुमाइरहेको जानकारहरु बताउँछन् ।
आम लगानीकर्ताहरुलाई निस्वार्थ सेवा दिनुपर्ने नेप्से जस्तो आधिकारिक निकायमा बसेका कर्मचारी र पदाधिकारीहरुको यो किसिमको चलखेल विरुद्ध केही लगानीकर्ताहरु मिली अख्तियारमा मुद्दा पेश गर्न लागेका छन् । यो पटक लगानीकर्ताहरुले अनलाइन प्रणालीमा भएको करोडौंको घोटालाको विषय समेत अख्तियारमा लग्ने तयारी थालेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19