काठमाण्डौ । सरकारले असार २४ गतेदेखि रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को महाप्रबन्धकको पद पूर्तिका लागि एक समिति बनाएको छ । 

अर्थ मन्त्रालयका सहसचिव आनन्दराज ढकालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको हो । 

असार २४ गतेदेखि नेप्सेका तत्कालीन महाप्रबन्धक सिताराम थपलियाको कार्यकाल सकिएको थियो । त्यसपछि नेप्सेको महाप्रबन्ध बन्ने दौडमा निकै ठूलो चलखेल भइरहेको छ । पहिला खुल्ला प्रतिस्पर्धाबिना नै महाप्रबन्ध नियुक्त गर्न खोजिए पनि त्यसको विरोध भएपछि सरकार पछाडि हटेको हो । 

समितिमा अर्थमन्त्रालयकै उत्तर खत्री र विज्ञ सदस्यको रुपमा राष्ट्रबैंकका पूर्व कर्मचारी टुलराज बस्याललाई नियुक्त गरिएको छ । 

अर्थमन्त्रालयका अनुसार यो समितिलाई कार्यविधि बनाई पदपूर्तिको प्रक्रिया अगाडि बढाउने र खुल्ला रुपमा दरखास्त आह्वान गरी सो क्रममा छानिएका उत्कृष्ट तीनजनाको नाम सरकार समक्ष सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । यो समितिले सिफारिस गरेका तीन व्यक्तिमध्ये एकजनालाई सरकारले नेप्सेको नयाँ महाप्रबन्धकको रुपमा नियुक्त गर्नेछ । 

यसैबीच, निक्षेप तथा कर्जा सुरक्षण कोषमा समेत रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत छनौटका लागि समेत तीन सदस्यीय छनौट समिति गठन गरिएको छ । यो समितिको संयोजकमा भने राजश्व सचिव शिशिर ढुंगाना रहेका छन् । समितिको सदस्यको रुपमा नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका सहसचिव आनन्दराज ढकाल रहेका छन् ।