काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले विश्वस्तरीय भनी दाबी गरेको अनलाइन कारोबार प्रणालीको दिनहुँ गाइजात्रा देखिन थालेको छ । 

यो प्रणालीमा दिनहुँजसो अनेकन समस्या आउँदा समेत समाधानको भरपर्दो पहल कतैबाट भएको छैन । 

यही क्रममा आइतबार समेत बजार खुलेको केही मिनेटदेखि सिस्टमले शिवम सिमेन्ट लगायतका कम्पनीहरुको अधिक खरीदबिक्रीको चाप धान्न सकेन । नेप्सेको अनलाइन सिस्टममा केहीबेर समस्या देखियो । 

त्यसको केही समयपछि फ्लोरसिटको डेटा र टर्नओभरमा गाइजात्रे ताल देखियो । समस्या समाधान हुने आशामा बसेका लगानीकर्ता नेप्सेको दिनहुँको यस्तो गाइजात्राबाट वाक्क भइसकेका छन् । 

नेप्सेले आइतबार फ्लोरसिट र टर्नओभरको डिस्प्लेमा समस्या देखिएपछि पुरानै शैलीमा सूचना निकाल्दै माफी मागेको छ । भनेको छ–‘फ्लोरसिट र टर्नओभरको डाटामा समस्या देखिएको छ । त्यसैमा हामी काम गरिरहेका छौ । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौ ।’

आइतबार बजार खुलेको केही मिनेटसम्म खुलेको सिस्टम शिवम् सिमेन्टमा देखिएको अधिक सेल अर्डरका कारण ह्याङ भएको अनलाइनमा यो दिन डिस्प्लेको समस्या समेत देखिएको छ । टिएमएस लगइनमा भने समस्या नभएको लगानीकर्ता र ब्रोकरहरुले जनाएका छन् । 

अनलाइन सिस्टममा दिनहुँजसो समस्या आउन थालेपछि ब्रोकरहरुले नेप्से र वाइकोसँग शुक्रबार छलफल समेत गरेका थिए । वाइकोले समस्या पूर्ण समाधान हुन समय लाग्ने भन्दै ४ हप्ता मागेको थियो । 

छलफल नै भएपछि आइतबारदेखि अनलाइन कारोबारमा सानातिना समस्या नदोहोरिएलान् भन्ने धेरैको अड्कलबाजी थियो । तर, भइदियो उल्टो ।